पाेखरा- अन्नपूर्ण केबलकार दसैँमा पनि खुल्ला रहने भएको छ।
दशमी र एकादशीका दिन कात्तिक ७ र ८ गते दिनकाे १ बजेबाट साँझ ६ बजे सम्म सञ्चालन हुने अन्नपूर्ण केबलकारका माहाप्रबन्धक अन्जन बडगामीले जानकारी दिए।
‘यात्रुहरुकाे चापलाई मध्यनजर गर्दै टीकाकाे र एकादशीकाे दिनमा सिमित समयकाे लागि भएपनि दिवा सेवा सञ्चालनमा नै रहने छ,’ बडगामीले भने।
महाप्रबन्धक बडगामीका अनुसार अन्नपूर्ण केबलकार कात्तिक ९ गतेदेखि नियमित सञ्चालनमा आउने छ।
फेवातालकाे किनार सेदीबगरदेखि सराङकोट सम्मकाे यात्रा सहजताका लागि स्थापना गरिएको अन्नपूर्ण केबलकार पाेखराको पहिलो केबलकार हो।
केबलकारमार्फत पोखराको फेवाताल किनारबाट सराङकोट (२.४ किमि ) यात्रा दुरी दस मिनेट लाग्छ।
केबलकारको १७ गोण्डोला यात्रुका लागि र एक गोण्डोला सामान ओसारपसार गर्न प्रयोग गरिनेछ। एक गोण्डोलामा आठ जनाको सिट क्षमता छ।
केबलकारबाट फेवातालसँगै सराङकोटबाट सूर्योदय र सूर्यास्त, मनोरम हिमशृङ्खला, फेवाफाँट, पुम्दीकाेट तथा पाेखराकाे सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ। केबलकारको माथिल्लो स्टेसनमा भ्यू टावर रेस्टुरेन्ट, गार्डेन, पार्किङ, रेष्टुरेन्ट, कफी सप, जिप लाइन, स्काईसाइकलिङ र स्विङ रहेका छन्।
केबलकार सञ्चालनमा आएपछि पाेखरामा पर्यटकहरुलाई यात्रा सहज भएकाे छ। केबलकार बिहान ५ बजे देखि साँझ ६ बजे सम्म सञ्चालन हुने गरेकाे महाप्रबन्धक बडगामीले बताए।


