काठमाडौं- पछिल्लो ५ वर्षमा झन्डै १० अर्ब रुपैयाँको फूलको कारोबार भएको आकलन गरिएको छ।
पछिल्ला ५ वर्षमा ९ अर्ब ४२ करोड रुपैयाँ स्वदेशी फूलको कारोबार भएको नेपाल फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल(फ्यान)का अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिएका छन्। नेपालमा खपत हुने अधिकांश फूल स्वदेशी रहेको समेत फ्यानको भनाइ छ।
स्वदेशी फुलको कारोबारले कोरोना महामारी कम भएसँगै लय समात्ने अवस्थामा पुगेको तामाङले बताए। उनका अनुसार, स्वदेशी फुल उत्पादनमा जोड दिँदै स्वदेशी फुलको बिक्रि बढाउन सरकारको महत्वपूर्ण सहयोग हुनुपर्ने उनले बताए।
फ्यानका अनुसार, पछिल्लो ५ वर्षमा नेपालको फुलको कारोबार र माग वृद्धि हुँदै गएको छ।
आव २०७५/७६ मा २ अर्ब ४२ करोडको फूलमालाको कारोबार भएको थियो। २०७६/०७७ र ०७७/७८ मा बर्षै भरी कोभिड–१९ महामारीको कारण भएको निषेध आदेश र लकडाउनले गर्दा व्यावसायीक कारोबारमा तीव्र गिरावट आएको थियो।
२०७८/०८९ मा २ अर्ब ३० करोड हाराहारीमा कारोबार भएको फ्यानको तथ्यांक छ। चालु २०७९/८० मा रु. ३ अर्ब ७ करोडभन्दा बढी कारोबार भएको फ्यानले जनाएको छ।
२०७८/०७९ को तुलनामा यस आर्थिक वर्षमा करिब ३३.६३ प्रतिशतले वार्षिक कारोबारमा बृद्धि भएको छ।
गत वर्ष पुष्प तथा पुष्पजन्य वस्तुको निर्यात रु ६८.१८ लाख मात्रै रहेको फ्यानले जनाएको छ। त्यस्तै, आयाततर्फ भने ३३.०६४८ करोड बराबरको कारोबार भएकोे भन्सार विभागले जनाएको छ।


