काठमाडौँ- काठमाडौँमा विद्युत् सेवा अवरुद्ध हुन थालेको छ। दसैँ सुरु हुनुअघिदेखि नै प्राधिकरणले काठमाडौँमा लाइन काट्न थालेको हो।
दसैँको समयमा सामाखुसी, ठमेल, लाजिम्पाट, पानीपोखरी, भृकुटीमण्डप, कमलपोखरी र डिल्लीबजार क्षेत्रमा लाइन काटेको थियो।
यस्तै क्षेत्रपाटी, असन, महाबौद्ध, न्युरोड, पुतलीसडक, गोंगबु, रानीबारी र बालुवाटार क्षेत्रमा प्राधिकरणले लाइन काटेको थियो। यी क्षेत्रमा असोज २४ गतेदेखि कात्तिक ४ गतेसम्म दिनहुँ बिहान र बेलुका विद्युत् सेवा अवरुद्ध गर्दै आएको थियो।
ती क्षेत्रहरु दसैं अवधिभर लाइन ट्रिपिङका कारण समस्यामा थिए। तिहारको बेलामा पनि उपत्यकाका केही क्षेत्रमा विद्युत लाइन काट्ने तयारी प्राधिकरणले गरिहरेको छ।
काठमाडौँ ग्रीड महाशाखा अन्तर्गतको लैनचौरस्थित ६६/११ केभी स्टेसनको स्तरोन्नति गर्नुपर्ने भएकाले काठमाडौँका केही क्षेत्रहरुमा विद्युत् सेवा प्रभावित हुने प्राधिकरणको भनाइ छ। सबस्टेसनको मर्मत तथा सुधारका लागि असोजमा नै १० दिनसम्म विद्युत् सेवा प्रभावित हुने सूचना निकालेको प्राधिकरणले अझसम्म पनि विद्युत सेवा बन्द गरिदिइरहेको छ। तर उसले सार्वजनिक रूपमा थप समय विद्युत सेवा प्रभावित हुने कुनै पनि जानकारी दिएको छैन।
अघोषित लोडसेडिङ हुँदा व्यवसाय नराम्ररी प्रभावित भएकभो काठमाडौँ अनामनगरमा व्यवसाय गर्दै आएका एक उद्यमीले बताए। ‘यस्तो समस्या दुखद् छ। विद्युतका कारण मेसिन नचल्दा व्यापार प्रभावित भएको छ,’ ती व्यवसायीले भने, ‘मर्मत र ट्रिपिङका नाममा प्राधिकरणले अघोषित लोडसेडिङ गरिरहेको छ।’
प्राधिकरणले काठमाडौँका विभिन्न क्षेत्रमा विद्युत् काटिरहेको छ। कुन बेला बत्ती जाने र कुनबेला आउने न सूचना छ न कुनै तालिका नै सार्वजनिक गरिएको छ। प्राधिकरणले उसबेला जारी गरेको सूचनामा कुन दिन कुन समयमा समयमा विद्युत् काटिने हो भन्ने पनि खुलाइएको थिएन।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भने गुणस्तरीय र भरपर्दो विद्युत् वितरण प्रणालीका लागि काम भइरहेकाले सूचना दिएर विदुयुत सेवा स्थगन गरिएको जिकिर गर्छन्। तर कुनकुन मिति र समयमा कहाँकहाँ सेवा प्रभावित हुने भन्ने सूचना प्राधिकरणले दिएको छैन।
प्रसारण तथा वितरण प्रणालीका विभिन्न आयोजनास्थलको अवलोकन तथा उद्घाटनमा पुगेको कुलमानले भने काठमाडौँमा लाइन ट्रिपिङ हुने कुरालाई सामान्य भन्ने गरेका छन्। प्राधिकरणले सूचना जारी गरेर सबस्टेसन मर्मतका लागि केही क्षेत्रमा थोरै समय ट्रिपिङ हुने कुरालाई बढाइचढाइ गर्न नहुने उनी बताउँछन्।
‘प्राधिकरणले देशभरको विद्युत् वितरण र सुधारका लागि काम गर्नुपर्छ। कहिले कहाँ प्रणालीमा समस्या आउँछ। कहिले कहाँ? सवस्टेशनको मर्मत र सुधारका लागि केही समय मात्र विद्युत् प्रभावित हुने भनिएको हो। प्राधिकरणले सूचना जारी गरेरै काठमाडौंमा लाइन काटेको हो,’ उनले भने, ‘यस्तो कुरालाई बढाइचढाइ र अतिरञ्जित गर्नु पर्ने आवश्यकता छैन।’


