काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महत र एसियाली विकास बैंकका नेपाल निर्देशक (कन्ट्री डाइरेक्टर) अर्नाउड काउचियोसबीच भेटवार्ता भएको छ। बुधबार बिहान अर्थ मन्त्रालयमा भएको भेटमा नेपालको वर्तमान अर्थतन्त्रबारे छलफल भएको बताइएको छ।
दातृ निकायसँग चरणबद्ध छलफल चलिरहेको र त्यसको एउटा सिलसिला आजको भेटघाट भएको मन्त्री डा. महतले बताए। ‘दातृ निकायबाट प्राप्त सहयोग समयमा खर्च हुन नसकेको बारे उहाँहरुले चिन्ता व्यक्त गर्नुभएको छ,’ उनले भने, ‘विकास निर्माण कार्यमा ढिला सुस्ती भएर ठेक्का प्रकृयाका कामहरु अगाडि बढ्न नसकेकोमा पनि दातृ निकाय चिन्तित रहेका छन्।’
यदि काम छिटो हुने हो भने अझ धेरै सहयोग उपलब्ध गराउन दातृ निकाय तयार रहेको डा. महतको भनाइ छ। यसअघि मंगलबार विश्व बैंक प्रतिनिधिसँग भेट गरेका डा महमतले जलविद्युत र सडक निर्माणमा सहयोग गर्ने विषयमा छलफल भएको थियो। मन्त्री डा. महतले भने, ‘नेपालमा देखिएको आर्थिक समस्याबारे पनि दातृ निकाय चिन्तित रहेका छन्। यो समस्या चाँडै समाधान होस् भन्ने दातृ निकाय चाहना छ।’
खर्च गर्ने क्षमतालाई वृद्धि गर्ने र अनुदान रकम वृद्धि र सहुलियतपूर्ण ऋण लिनेबारे नेपाल सरकार सचेत रहेको अर्थमन्त्री डा. महतले बताए। मन्त्री डा. महतले हिजो विश्व बैंकको प्रतिनिधिमण्डल भेट गरेका थिए।
