काठमाडौँ- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाउने घोषणा प्राधिकरणका आन्दोलनरत कर्मचारीले गरेका छन्। ७ बुँदे माग राखेका कर्मचारीले यस्तो घोषणा गरेका हुन्।
नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन र नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ कात्तिक १४ गतेदेखि आन्दोलनमा छन्। आइतबार, सोमबार र मंगलबार तीन दिन प्राधिकरणका कार्यकारी निर्देशक, उप-कार्यकारी निर्देशकलगायत प्रादेशिक कार्यालय प्रमुखलाई कार्यकक्षमा प्रवेश निषेध गर्ने निर्णय कर्मचारीको छ।
कात्तिक १९ गते ११:१५ बजेदेखि १२:१५ बजेसम्म, भोलि कात्तिक २० गते ११:१५ बजेदेखि १२:४५ बजेसम्म र पर्सि ११:१५ बजेदेखि १:१५ बजेसम्म कार्यकक्ष प्रवेश निषेध गर्ने कर्मचारीहरुले सार्वजनिक गरेको आन्दोलनका कार्यक्रममा उल्लेख छ।
वार्ताबाट निष्कर्षमा पुग्ने वातावरण नबनेको भन्दै कर्मचारीले घिसिङलगायतलाई कार्यालय प्रवेशमा निषेध गरेका हुन्। यसैगरी कात्तिक १४ गते सात बुँदे मागसहित तीन दिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए। अझपनि माग पुरा नभए कात्तिक २२ गतेदेखि आन्दोलन थप चर्काउने कर्मचारीको भनाइ छ।


