काठमाडौँ- सांसद विकास कोषको रकम भूकम्पपछिको पुनर्निर्माणमा खर्च गर्ने निर्णय सरकारले गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।
संघीय संसद अन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा ५ करोडका दरले खर्च गर्न पाउने गरी चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा व्यवस्था गरिएको छ।
संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम नाम दिइएको संसद विकास कोषमा ८ अर्ब २५ करोड जाने थियो। उक्त रकमलाई पुनर्निर्माणमा खर्च गर्ने निर्णय भएको बैठकमा सहभागी एक जना मन्त्रीले जानकारी दिए।
राजनीतिक तजबिजीमा खर्च हुने त्यस्तो रकम विनियोजनका विषयमा भने सरकारको आलोचना हुँदे आएको छ।
उक्त रकमलाई विपद् व्यवस्थापन कोषमा सार्ने निर्णय गरेको छ। संसद विकास कोषमा जाने त्यस्तो रकममा थप १ अर्ब ७५ करोड लगाएर १० अर्ब विपद् व्यवस्थापनका लागि उपलब्ध गराउने निर्णय गरिएको छ। यसको व्यवस्था अर्थ मन्त्रालयले मिलाउनेछ।
कात्तिक १७ गते जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी १५३ जनाले ज्यान गुमाएका छन् भने राहत प्रभावकारी नबन्दा चिसोका कारण थप दुई जनाको पनि मृत्यु भएको छ।
भूकम्पले ६२ हजार भन्दा बढी आवासीय घरमा क्षति पुगेको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जानकारी दिएको छ।


