काठमाडौँ- तास आयातमा मात्रै पछिल्लो तीन महिनामा नेपालको झन्डै ९ करोड रुपैयाँ बाहिरिएको छ। भन्सार विभागका अनुसार तीज, दसैं र तिहारसमेत परेकाले पछिल्लो ३ महिनामा नेपालमा ८ करोड ७१ लाख बराबरको तास आयात भएको छ।
साउन, भदौ र असोजमा चीन, भारत, अमेरिकालगायतका मुलुकबाट तास आयात भएको छ। जसमध्ये , तीन महिनामा चीनबाट ७ करोड ८६ लाख बराबरका तास आयात भएको विभागको तथ्यांकले देखाउँछ। त्यस्तै, सो अवधिमा ८५ लाख बराबरका तास भारतबाट पनि आयात भएका छन्।
भन्सार विभागको तथ्यांकबाहेक पनि खुला सीमाना र फुटकर रुपमा नेपालमा तास आयात भइरहेकै हुन्छ। दसैं, तिहारमा मात्र होइन, अन्य चाडपर्व र अन्य अवसरकार बेला पनि तास खेल्ने नेपालीको कल्चर बसिसकेको देखिन्छ।
मनोरञ्जनका लागि खेलिने तास आयातले एकातिर व्यापार घाटा बढाएको छ। अर्कोतिर, नेपालमा तास खेल्नु गैरकानुनी मानिन्छ। तर, चाडबाड र मनोरञ्जनका नाममा जुवातास खेल्दा कैयौँ पक्राउ परेका छन्।
गत आर्थिक वर्ष २०७९।०८० मा सरकारले विदेशी मुद्राको सञ्चिति जोगाउने लक्ष्यसहित तास लगायतका वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो। सरकारले तासलाई पनि अहिले आयात गर्न प्रतिबन्धित वस्तुको सूचीमा राखेको छ।
सोही कारण पनि गत आवमा जम्मा १ करोडको आयात आयात भएको थियो। जबकी, चालू वर्षमा तासको आयात ह्वात्तै बढेको देखिन्छ।
नेपालमा उत्पादन नहुने भएकाले नेपालको मागअनुसार तास विदेशबाटै आयात हुने गरेको छ। अनौपचारिक तवरबाट भित्रने तासको तथ्यांक विभागसँग हुँदैन।
पछिल्लो ५ वर्षमा तास आयात अवस्था
विभागको तथ्यांकअनुसार आव २०७५/७६ मा झन्डै २५ करोड रुपैयाँको तास आयात भएकोमा अहिले तीन महिनामा झन्डै ९ करोडको तास आयात भएको छ।
त्यस्तै, भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ मा २३ करोड ५४ लाख मूल्यको १ करोड ३२ लाख प्याकेट तास आयात भएको छ।
आर्थिक वर्ष २०७७/७८ मा मात्रै एक करोड ३४ लाख प्याकेट तास आयात भएको थियो। त्यति तास आयात गर्दा २७ करोड ४९ लाख बाहिरिएको थियो। यो वर्ष हालसम्मकै सबैभन्दा बढी तास आयात भएको तथ्याङ्कले देखाएको छ।
गत आर्थिक वर्ष २०७८/७९मा २१ करोड ५४ लाख रुपैयाँ बराबरका एक करोड ९ लाख प्याकेट तास नेपाल भित्रिएको छ। ५६ लाख रुपैयाँको मात्रै तास नेपाल भित्रिएकोमा गत आव २०७९/०८० सम्म आइपुग्दा २१ करोड रुपैयाँका तास नेपाल आयात भएको देखिन्छ।
गत आर्थिक वर्ष २०७९/८० मा २१ करोड २७ लाख रुपैयाँको तास आयात भएको छ। विभागको तथ्याङ्क अनुसार गत वर्ष कुल १ करोड ७७ हजार ९८९ प्याकेट तास आयात भएको छ।


