काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋण लिएर ‘तिर्दिनँ’ भन्नेहरूका कुनै पनि मुद्दा राज्यले सुनुवाइ नगर्ने बताएका छन्। मंगलबार आयोजित निजी क्षेत्रका व्यवसायीसँग भएको छलफलपछि मन्त्री महतले यस्तो बताएका हुन्।
‘समग्रमा दीर्घकालीन सोचका साथ जलविद्युत, कृषि, पर्यटन, आईटी, साना उद्योग व्यवसायको प्रवद्र्धन गर्ने क्षेत्रमा तदारुकताका साथ सरकारले काम गर्नेछ,’ उनले भने, ‘अप्ठ्यारामा परेका व्यवसायलाई सहजीकरण गर्ने विषयमा पनि छलफल भयो। तर, ऋण लिएर तिर्दिन भनेर जो लाग्छ, त्यसको सुनवाइ हुँदैन। ऋण तिर्नैपर्छ। अप्ठ्यारामा परेकाहरुलाई केही समय दिएर सहजीकरण गर्न सरकार तयार छ।’ ऋण लिएर नतिर्ने, ठूला कुरा गर्दै नेता पल्टिनेलाई राज्यले नसहने उनको भनाइ थियो।
अर्थमन्त्रालयको तर्फबाट मन्त्री डा. प्रकाशशरण महत र नेपाल राष्ट्र बैंकको तर्फबाट गर्भनर महाप्रसाद अधिकारीले बैठकमा तथ्यांकसहित देशको वस्तुस्थितिको यथार्थ प्रस्तुत गरेका थिए। प्रस्तुत सूचांकबाट देशको अर्थतन्त्र थप गतिशील हुने अधिकांश सहभागी आशावादी बनेका थिए।
‘हाम्रो अर्थतन्त्रमा संरचनागत समस्या छन्। अर्थतन्त्रलाई थप गतिशील बनाउन अझ धेरै काम गर्न बाँकी रहेको छ’ मन्त्री डा. महतले भने, ‘यो विषयवस्तु सरकारले पनि बैठकमा राखेको थियो, निजी क्षेत्र र राजनीतिक दलबाट प्रतिनिधित्व गरेर सहभागीले पनि राखेका थिए। त्यसको सांराश प्रधानमन्त्री पुष्पकमल दाहालले प्रस्तुत गर्नुभयो।’
भूकम्प प्रभावित क्षेत्रमा सरकारले उदारताका साथ सहयोगी हात अघि बढाइसकेको मन्त्री डा. महतले बताए। ‘मौद्रिक र वित्तीय नीति प्रभावकारी बनाउने, अप्ठ्यारामा परेकालाई सहजीकरण गरेर अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रलाई साथमा लिएर सरकार अघि बढ्छ,’ उनले भने।


