काठमाडौँ- प्रभु बैंकले ‘बैंक अफ दि इयर २०२३’ को उपाधि प्राप्त गरेको छ। बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०२३ को ‘बैंक अफ दि इयर’बाट प्रभु बैंकलाई सम्मान गरेको हो।
बिहीबार बेलायतमा भएको समारोहमा प्रभु बैंक सञ्चालक समितिका अध्यक्ष लिलाप्रकाश सिटौला र बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनले संयुक्त रूपमा ‘बैंक अफ दि इयर २०२३’ को सम्मान ग्रहण गरे।
बैंकले नागरिकलाई पुर्याएको वित्तीय सेवा, प्रतिस्पर्धी बैंकबीचको सम्बन्ध र वित्तीय कार्यसम्पादन क्षमतालगायतका सूचकका आधारमा मूल्यांकन गरी उत्कृष्ट ठहरिएबापत अवार्डबाट सम्मानित गरिएको फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ।
बैंकले अवार्ड प्राप्त गर्न सफल भएकोमा प्रमुख कार्यकारी अधिकृत शेरचनले खुसी व्यक्त गरे। ‘यो सुखद खबर यहाँहरु समक्ष बाँड्न पाउँदा हामी अत्यन्त उत्साहित छौँ,’ शेरचनले भने।
अध्यक्ष सिटौलाले नेपालको बैंकिङ प्रणालीको सफलतामा एउटा इँटा थप्न सफल भएको बताए। ‘वर्तमान अर्थतन्त्रको पृष्ठभूमिमा प्राप्त भएको यो सम्मानले बैंकिङ क्षेत्रमै हौसला प्रदान गरेको छ। हाम्रा सेवा र सेयरधनीलाई उचित प्रतिफल दिन थप मद्दत पुग्ने विश्वास लिएका छौँ,’ उनले भने।
सीईओ शेरचनले अवार्ड प्राप्तीको श्रेय प्रभु बैंकका सञ्चालक तथा कर्मचारीहरुको मेहनत, सेयरधनी, सेवाग्राही तथा शुभचिन्तकलाई दिए। ‘यो सुखद सन्वेशन हाम्रो संस्था, सेयरधनी, कर्मचारी, सेवाग्राही तथा शुभचिन्तकका लागि मात्रै हैन, नेपालको बैंकिङ क्षेत्रकै सफलताको ठानेको छु। आगामी दिनमा नेपाली बैंकिङ क्षेत्रमा यस्तो सफलता थप प्राप्त हुदै जानेछन् भन्ने विश्वास समेत छ,’ सिइओ शेरचनले भने। बैंकको सेवा थप प्रभावकारी बनाउने प्रतिबद्धतासमेत उनले जनाए।
‘बैंक अफ दि इयर’ अवार्डलाई ‘बैकिङ उद्योगको ओस्कार’ मानिन्छ। ‘दि बैकर’ले विश्वभरका १२० भन्दा बढी राष्ट्रका एक हजार भन्दा बढी बैंकमध्ये हरेक राष्ट्रबाट एउटा उत्कृष्ट बैंकको छनौट गरी वषैपिच्छे सम्मानित गर्दै आएको छ। अवार्ड वितरण समारोहमा १२० भन्दा बढी देशका ३५० भन्दा बढी बैंकका अध्यक्ष, सीईओ, सीएफओ र अन्य वरिष्ठ प्रबन्धकको सहभागिता रहेको थियो।
२००६ सालमा प्रभु फाइनान्सबाट सुरु भएको प्रभुको वित्तीय सेवायात्रा प्रभु ग्रुपसम्म आइपुगेको छ। बैंकले ३ सय बढी शाखा सञ्जाल, ७१ एक्सटेन्सन काउन्टर, ३१० एटीएममार्फत देशव्यापी रुपमा ३१ लाख भन्दा बढी सेवाग्राही बैंकिङ सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ। २०७९ पुसमा सेञ्चुरी बैंक प्रभुमा विलय गराएर एकीकृत कारोबार सुरु गरेको बैंकमा ८ वटा बैंक तथा वित्तीय संस्था गाभिएका छन्।
हाल प्रभु बैंकको चुक्ता पूँजी २३ अर्ब, सम्पत्ति करिब साढे तीन ३ खर्ब, निक्षेप संकलन साढे २ खर्ब र ऋण प्रवाह २ खर्ब ५३ अर्ब छ।


