विराटनगर- मोरङको धनपालथान गाउँपालिका – ४ कर्सियाबाट राजस्व विभागको अन्तःशुल्क स्टिकरसहित एक जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ। कर्सिया बजारमा रहेको केशव किराना पसलका संचालक ४८ वर्षीय सुनीलकुमार राजवंशीलाई इलाका प्रहरी कार्यालय रंगेलीले शनिबार साँझ पक्राउ गरेको हो।
भोला गुट्खालगायतका सूर्तीजन्य पदार्थको ‘प्याकेट’मा प्रयोग हुने स्टिकर दुरुपयोग भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए। पक्राउ परेका राजवंशीले कर्सिया बजरादेखि पूर्वी सहरसम्मका सूर्तीजन्य पदार्थमा लगाएको अन्तःशुल्कको स्टिकर भण्डारण गरी राख्ने गरेका थिए।
अन्तःशुल्कको स्टिकर अन्य पसलहरुसँग ३ देखि ४ रुपैयाँमा खरिद गर्ने र उनले बुटुवलमा रहेको श्रीराम उद्योगले उत्पादन गर्ने ‘करेन्ट’ गुटखामा पुन: प्रयोगको लागि पठाउने गरेको प्रहरीको अनुस्न्धानबाट खुलेको छ। उनले उद्योगलाई ५ देखि ७ रुपैयाँ प्रति गोटा अन्तः शुल्कको स्टिकर विक्री गर्ने गरेको पाएको छ। विगत एक वर्षदेखि उनले यस्तो काम गर्दै आएको खुलेको छ।
इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर बुद्धिराम चौलागाईं नेतृत्वको टोलीले उनको किराना पसलबाट छापा हानेको थियो। प्रयोगका लागि तयारी अवस्थामा राखिएको अन्तःशुल्क स्टिकर फेला परेपछि राजवंशी पक्राउ परेका हुन्। उनको पसलबाट ‘रेडीमेड टोबाक्को’ लेखिएको ३ हजार १ सय ४० थान अन्तःशुल्क स्टिकर बरामद भएको डीएसपी दाहालले बताए। उनका अनुसार राजवंशीलाई थप अनुसन्धान एवं कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय विराटनगरमा बुझाएको छ। अहिले राजस्व अनुस्न्धान कार्यालयले अनुसन्धान सुरु गरेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट भोला गुट्खाको ‘प्याकेट’मा प्रयोग भइसकेको स्टिकर निकालेर पुनः प्रयोगका लागि उनले पठाउने गरेको खुलेको छ। उक्त स्टिकर राजवंशीले कहाँ र कसलाई पठाउँथेभन्ने बारेमा खुल्न बाँकी छ। तर, यसअघि नै प्रयोग भइसकेको स्टिकर निकाल्दै गुट्खाको खोल र मदिराको बोतललगायतमा पुनः टाँसेर राजस्व छली गर्ने गरिएको प्रहरीको भनाइ छ।
गुट्खा, मदिरालगायतका वस्तु अन्तःशुल्क स्टिकर लगाएर मात्रै बजारमा पठाउन पाइन्छ। त्यसरी प्रयोग भइसकेको स्टिकर उप्काएर पुनः प्रयोगका लागि पठाउने गरेको पाइएको हो। राजवंशीले त्यस्ता स्टिकर स्थानीय व्यापारीसँग पनि संकलन गर्ने गरेको प्रहरीले जनाएको छ।
स्थानीय व्यापारीबाट संकलन गर्दै आफ्नो घरमा जम्मा पारेर विराटनगरतिर पठाउने गरेका थिए। उद्योगले व्यापारीको पसल– पसल पठाउन गिरोह नै परिचालन गरेको बुझिएको छ। स्किटरको दुरुपयोग गरेर राजस्व छली गर्न ठूलै गिरोह संलग्न रहेको हुनसक्ने प्रहरीको अनुमान छ। राजस्वको अनुसन्धानपछि थप कुरा खुल्ने र अन्तःशुल्क स्टिकर दुरुपयोगमा संलग्न गिरोहका बारेमा पत्ता लाग्ने जनाइएको छ।


