काठमाडाैँ- एनसेलको सेयर खरिद बिक्री प्रकरणमाथि संसद्काे सार्वजनिक लेखा समितिले प्रश्न उठाएको छ। सार्वजनिक लेखा समितिले एनसेलको सेयर खरिद बिक्रीको विषयलाई लिएर दूरसञ्चार प्राधिकरण, आन्तरिक राजश्व विभाग र कम्पनी रजिष्ट्रारको कार्यालयलाई प्रश्न गरेको हाे।
एनसेलको ८० प्रतिशत स्वामित्व रहेको मलेसियन कम्पनी आजियाटाले बिक्री गरेको सेयरको खरिदबिक्री प्रक्रिया नियमसङ्गत भएनभएको, यस्तो खरिदबिक्रीले सेवा प्रवाहमा पार्ने असर, राजस्वमा पर्ने प्रभाव, मुलुकको कानुनी व्यवस्था परिपालनालगायतका प्रश्न प्राधिकरणसँग सोधिएको छ।
दूरसञ्चार प्राधिकरणलाई समेत जानकारी नदिएर एनसेलको सेयर खरिद बिक्री भएको छ। नेपालको कानून, लगानी बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, उद्योग विभाग कसैलाई पनि जानकारी नगराएपछि कर छल्ने नियतले सेयर खरिदबिक्री भएको आशङ्कामा एनसेल प्रकरणले संसद्को सार्वजनिक लेखा समितिमा प्रवेश पाएको हो।
चुक्ता पुँजीको ५ प्रतिशतभन्दा बढी विदेशी लगानी भएको कम्पनीको सेयर खरिदबिक्रीमा पूर्वस्वीकृति आवश्यक पर्ने भए पनि नेपालको कानुनी प्रक्रियालाई समेत अटेर गरेर एक्जियाटाले सेयर बिक्री गरेको हो।
आजियाटाले एनसेलमा रहेको आफ्नो लगानी २० प्रतिशत लगानी भएका सतीशलाल आचार्यको २ महिनाअघि दर्ता भएको कम्पनी स्पेक्ट्रलाइटलाई बेचेको छ। नेपाल दूरसञ्चार प्राधिकरणबाट पूर्वस्वीकृति नलिई एक्जियाटाले सेयर बेचेको हो।



