चितवन – अर्थमन्त्री डा.प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारको गतिमा रहेको बताएका छन्। चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले अर्थतन्त्रले लय समाउन थालेको बताए।
‘नेपालमा आउने विदेशी पर्यटकको सङ्ख्या र विप्रेषण आप्रवाह (रेमिट्यान्स) बढेको छ,’ अर्थमन्त्री महतले भने, ‘समस्यामा परेका व्यवसायीको समस्या समाधान हुन्छ। अर्थतन्त्र विस्तारै लयमा फर्कन्छ। समग्रमा विदेशी रेमिट्यान्स ३० प्रतिशतले बढेको छ। पर्यटकको चाप बढ्दा पर्यटन व्यवसायी उत्साहित भएका छन्।’
अर्थतन्त्र सुधारका लागि धेरै नीतिगत निर्णय भएको जनाउँदै उनले ती निर्णयबाट भएको लगानीले प्रतिफल दिन समय लाग्दा अर्थतन्त्रमा केही समस्या देखिएको बताए। सहजरूपमा कर्जा प्रवाह हुँदा धेरै कर्जा जग्गामा, सेयरबजार र क्रिप्टोमा पनि भित्रीरूपमा गएको जनाउँदै उनले त्यसको प्रतिफल आउन ढिला भएको बताए। उनले भने, ‘घरजग्गाको कारोबारमा सुधार हुन लागेको छ।’
ऋण लिएर सही ठाउँमा लगानी गर्दा पनि परिणाम पाउन नसकेकाहरूको हकमा ब्याज, समय थपलगायतका विषयमा सरकारले राहतका लागि कोसिस गरिरहेको उनको भनाइ छ।
सञ्चारकर्मीको जिज्ञासामा उनले एनसेलको सेयर बिक्रीका विषयमा अहिलेसम्म सरकारलाई जानकारी नभएको बताए। उनले भने, ‘हामी सूचना लिइरहेका छौँ । यसको नियमन गर्ने निकाय टेलिकम हो । यो ठूलो किनबेच गर्दा अनुमति लिनुपर्ने व्यवस्था छ।’
आधिकारिकरूपमा सरकारलाई जानकारी नभएको जनाउँदै उहाँले यसले पार्ने प्रभावका विषयमा टेलिकमका पदाधिकारसँग बुझ्दै गरेको जानकारी दिए।
फरक प्रसङ्गमा अर्थमन्त्री डा महतले अहिले सरकारले चुरे क्षेत्रको गिट्टी, बालुवा उत्खननका लागि कुनै प्रक्रिया अघि नबढाएको स्पष्ट पारे। उनले भने, ‘अहिले त्यस्तो केही प्रक्रिया अघि वढेको छैन। हल्लामात्रै हो। यद्यपि हामीले प्रस्तावमा चुरेका भनेका छैनौँ त्यो पनि बुझीराख्नुपर्यो। हाम्रो खनिजजन्य जति पनि उत्पादन हुने सम्भावना छ, यसमा गिट्टी–ढुङ्गा पनि पर्छ।’
यसबाट वातावरणमा नकारात्मक प्रभाव नहुने गरी देशले फाइदा कसरी उठाउन सक्छ भन्ने विषय भएको उनले बताए। सम्भावनाको अध्ययन गरेर वातावरणलाई क्षति नहुने गरेर यस्तो किसिमको आफ्नो उपभोगका लागि र निर्यात गरेर आम्दानी गर्नका लागि पनि सम्भावना भएको ठाउँमा सम्भावनाको उपभोग गर्नुपर्छ भन्नेमा सरकार रहेको उनको भनाइ छ।
