काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेल किनबेचका विषयमा सत्ता गठबन्धनका शीर्ष नेतासँग छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ प्रधानमन्त्री दाहालले शीर्ष नेता र मन्त्रीहरूलाई एनसेल खरिदबिक्रीबारे छलफलका लागि बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
छलफलमा पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी छन्।
बैठकमा लोसपाका अध्यक्ष महन्थ ठाकुर, जसपाका नेता राजेन्द्र श्रेष्ठ, माओवादी उपाध्यक्षहरू अग्नी सापकोटा र पम्फा भुसाल, एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे र कांग्रेस प्रमुख सचेतक रमेश लेखक पनि सहभागी छन्।
यस्तै मन्त्रीहरूमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, भौतिकमन्त्री शरतसिंह भण्डारीको सहभागी रहेको छ।


