काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेल किनबेचका विषयमा सत्ता गठबन्धनका शीर्ष नेतासँग छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ प्रधानमन्त्री दाहालले शीर्ष नेता र मन्त्रीहरूलाई एनसेल खरिदबिक्रीबारे छलफल गरेका हुन्।
एनसेलको सेयर खरिदबिक्री शंकास्पद भएको निष्कर्ष निकालेको गठबन्धनले यो विषयमा गम्भीरतापूर्वक छानबिन गर्न सरकारलाई आग्रह गरेको छ।
बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यो विषयमा सुक्ष्म अध्ययन गर्न सरकारलाई सुझाव दिएको निष्कर्ष निकालेको बताए।
‘एनसेनको सेयर खरिद बिक्रीबारे जे जति प्रश्नहरु उठेका छन्, ती गम्भीर छन्, जायज छन्’, लेखकले भने, ‘यसबारे सरकारले तत्काल छानबिन गर्नुपर्छ, सुक्षम ढंगले अध्ययन गर्नुपर्छ भन्ने निष्कर्षमा शीर्ष नेताहरुको बैठक पुगेको छ।’ उनले यो विषयमा मन्त्रिपरिषद्ले आवश्यक निर्णय लिने पनि बताए।
मलेसियाको कम्पनी आजियाटाले एनसेलमा रहेको ८० प्रतिशत सेयर गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पमी स्पेक्ट्रलाइटलाई बिक्री गरेको छ। नेपाल सरकारको निकायलाई खबर नगरी खरिद बिक्री गरेको भन्दै उक्त कारोबारमाथि प्रश्न उठिरहेको छ।
छलफलमा पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी छन्।
बैठकमा लोसपाका अध्यक्ष महन्थ ठाकुर, जसपाका नेता राजेन्द्र श्रेष्ठ, माओवादी उपाध्यक्षहरू अग्नी सापकोटा र पम्फा भुसाल, एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे र कांग्रेस प्रमुख सचेतक रमेश लेखक पनि सहभागी छन्।
यस्तै मन्त्रीहरूमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, भौतिकमन्त्री शरतसिंह भण्डारीको सहभागी रहेको छ। बैठकमा विभिन्न मन्त्रालयका सचिवहरू पनि थिए।
