झापा – अलैँचीपछि सबैभन्दा बढी विदेशी मुद्रा स्वदेश भित्र्याउने चिया व्यवसाय सङ्कटमा परेको सरोकारवालाले बताएका छन्। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गत वर्षको तुलनामा चालु आर्थिक वर्ष २०८०/८१ मा दोब्बर विदेशी मुद्रा भित्र्याउने अनुमान गरिरहेको अवस्था रहे पनि चिया क्षेत्रमा गम्भीर सङ्कट निम्तिएको बताएको छ।
बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले चालु आर्थिक वर्षमा नेपालबाट अर्थोडक्स र सीटीसी चिया निर्यातबाट करिब ८ अर्बको विदेशी मुद्रा भित्रिने आँकलन गरेको बताए। ‘सरकारले समयमै चियालाई चाहिने मलसहितको कार्यक्रम उपलब्ध गराएको छ। यसले उत्पादन पनि बढ्ने अनुमान छ। उत्पादन बढेसँगै निर्यात बढी स्वतः भइहाल्छ।’
चिया क्षेत्रका विद्यमान समस्या समाधानमा प्रभावकारी भूमिका निर्वाह गर्ने र सरोकारवालाले उठाएका सबैखाले समस्याको उचित सम्बोधन गर्दै राज्य पक्षलाई समेत समस्याको जानकारी गराउने उनले बताए। गत वर्ष चिया निर्यातबाट मात्र नेपालमा ३ अर्ब ८० करोड रकम भित्रिएको बोर्डको तथ्याङ्कमा उल्लेख छ।
चिया किसान हर्क तामाङले बोर्डले गरेजस्तो आकलनले काम नगर्ने बताए। उनले बोर्डले कोठामा बसेर तथ्याङ्क तयार गर्ने, किसानका बगानसम्म पुगेर मूल्याङ्कन नगर्ने हुँदा यस्तो लक्ष्य लिनु स्वभाविक भएको बताए। ‘बोर्ड अलैँचीपछि विदेशी मुद्रा ल्याउने चिया भन्छ, तर यही अवस्था रहने हो भने ५ वर्षपछि चियाको बुट्टा भेट्न पनि गाह्रो होलाजस्तो छ,’ उनले भने ।
सरकारले चियालाई कृषिको रूपमा सूचीकृत नगरेर उद्योग सरह विद्युतीय महसुल लगाउँदा सिँचाइमा समस्या, अक्सन बजारको अभावले अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन नसक्नु मुख्य कारण रहेको उनको भनाइ छ।
अखिल नेपाल ट्रेड युनियन केन्द्रीय उपाध्यक्ष भूपाल सापकोटाले चिया विकासको निम्ति बोर्डले अहिलेसम्म केही काम गर्न नसकेको आरोप लगाए। उनले उद्योगी, व्यवसायी, किसान, मजदुर कसैको समस्या समाधानमा बोर्डले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको बताए।
नेपाल चिया बगान श्रमिक सङ्घका केन्द्रीय अध्यक्ष दीपक तामाङले चिया क्षेत्रको समस्या समाधानमा राज्य उदासिन देखिएको आरोप लगाएका छन्। उनले हालसम्म श्रम ऐनअन्तर्गतको कतिपय बगानका श्रमिकले ज्यालासमेत नपाइरहँदा बोर्डले समेत कानुन कार्यान्वयनमा समन्वय नगरेको गुनासो गरे ।
नेपालमा २० हजार २३७ हेक्टरमा चियाखेती लगाइएको बोर्डले जनाएको छ। त्यसमध्ये ९९ प्रतिशत उत्पादन कोशी प्रदेशमा भइरहेको छ। ७० हजार नागरिकले रोजगारी पाइरहेको चियाका ३० वटा अर्थोडक्स र ३८ वटा सीटीसीका उद्योग सञ्चालित छन्।


