काठमाडौँ- नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएका छन्।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मन्त्री रमेश रिजाललाई भेटेर थानीले राजीनामा बुझाएका हुन्।
उद्योगमन्त्री रमेश रिजालले थानीले राजीनामा दिएको र त्यसलाई स्वीकृत पनि गरिसकेको जानकारुि दिए। ‘बुधबारदेखि लागू हुने गरी उहाँले बुझाएको राजीनामा स्वीकृत गरेको छु,’ मन्त्री रिजालले भने।
थानीले राजीनामाको कारण भने खुलाएका छैनन्। निगममा २१ महिना बिताएर कार्यकाल सकिनु १५ महिना अगावै थानीले पदबाट राजीनामा दिएका हुन्।
थानी खुल्ला प्रतिस्पर्धाबाट २०७८ फागुनमा तीनवर्षे कार्यकालका लागि निगमको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए।
थानी नेपाली कांग्रेस निकट इन्जिनियरहरुको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन)का निवर्तमान अध्यक्ष हुन्। उनी यस अघि नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्य र इन्जिनियरिङ परिषद्को रजिस्ट्रार भएर पनि काम गरेका थिए।
थानीको नेतृत्वमा इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई ३१ अर्ब रुपैयाँ बक्यौता चुक्ता र सरकारको ७ अर्ब ऋण तिरेर निगमलाई ऋणमुक्त गराएका थिए। थानीले निगमलाई आर्थिक वर्ष २०७९/८०मा १८ अर्ब नाफा समेत लगेका थिए।


