काठमाडौँ- १४ किलो सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सरसफाइ सुपरभाइजर पक्राउ परेका छन्। विमानस्थलका सरसफाइ सुपरभाइजर सुशील पाण्डेलाई बुधबार राति भक्तपुरबाट पक्राउ गरेको त्रिभुवन विमानस्थल भन्सार कार्यालय स्रोतले जानकारी दिएको छ ।
२१ मंसिरको राति दुबईबाट काठमाडौं आएका गोरखाका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका थिए। उक्त सुन प्रकरणको अनुसन्धानका लागि प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा समिति गठन गरेको थियो। सो समितिले अनुसन्धानका लागि सुपरभाइजर पाण्डेलाई पक्राउ गरेको हो।
विमानबाट ओर्लेलगत्तै घले पक्राउ परेका थिए। तर अध्यागमनको ‘वाकथ्रु गेट’मा जानुअघि नै विमानस्थलको शौचालयमा सुन राख्ने र त्यहाँबाट फोहोरको रुपमा बाहिर निकाल्ने योजनासहित आएको अनुसन्धानबाट खुलेपछि यसमा संलग्न भएको हुन सक्ने आशंकामा पाण्डे पक्राउ परेका हुन्।
यो प्रकरणमा अनुसन्धानका लागि छानबिन समितिले त्रिभुवन विमानस्थलका ३ जना कर्मचारीलाई पक्राउ गरेको छ।


