काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले परिणाम नदेखिको भन्दै कर्मचारीप्रति आक्रोशित भएका छन्। कुनै पनि कुतर्क नगरी परिणाममुखी काम गर्न मन्त्री रिजालले कर्मचारीलाई कडा शब्दमा निर्देशन दिएका छन्।
मन्त्रालयमा सचिव, सहचिव, महानिर्देशक तथा मातहतका विभिन्न सार्वजनिक निकायका प्रमुखलाई बोलाएर मन्त्री रिजाल कडा रुफमा प्रस्तुत भएका हुन्। आर्थिक वर्ष २०८०/८१ को मंसिर महिनासम्मको प्रगति समीक्षा गर्न मन्त्रालयमा बैठक बसेको थियो। देश विकास र जनताको काम गर्न कसैले पनि ‘तर, पनि, यदि’ जस्ता शब्द प्रयोग गरेर उम्कन नपाउने मन्त्री रिजालको भनाइ थियो।
‘कानुन विपरीत जाने हैन, सबैले परिणाम दिने गरी र परिवर्तन देखिने गरी काम गर्नुहोस्’, मन्त्री रिजालले भने, ‘आफ्ना कमीकमजोरीलाई ढाकछोप नगरी ईमान्दारीका साथ काम गर्नुहोस्, कुनै पनि तर्क दिएर कसैले पनि काम टाल्न नखोज्नुहोस्।’
देशको परिस्थिति, जनअपेक्षा र सरकारको अभिभारा बुझ्न मन्त्री रिजालले सबैलाई आग्रह समेत गरे। यो समयमा अपेक्षित काम हुन नसकेको भन्दै मन्त्री रिजालले थपे, ‘तपाईंहरुको कामबाट म खुसी छैन, ईमान्दारीका साथ परिणाममुखी काम नगर्ने हो भने नैतिकताको आधारमा बाहिरिने वातावरण बनाउनुहोस्। विश्वासका साथ सबैलाई जिम्मेवारी दिइएको छ, त्यो जिम्मेवारी पुरा गर्नुस्।’
ऐनकानुनले ढिलासुस्ती भएको छ भने त्यो पनि भन्न आग्रह गर्दै मन्त्री रिजालले त्यस्ता ढिलासुस्ती निरूपण गर्नेतर्फ आफ्नो ध्यान जाने बताए। तर अब कहीँ पनि ढिलासुस्ती स्वीकार्य नहुने उनको भनाइ थियो।
आर्थिक वर्ष २०८०/८१ को मंसिर महिनासम्मको खर्चमा चालु तर्फ ३१.०२ प्रतिशत अर्थात् १ अर्ब ५० करोड ३२ लाख रुपैंया, पुँजीगततर्फ ३.०६ प्रतिशत अर्थात १० करोड १० लाख रुपैयाँ खर्च भएको छ।
