काठमाडौँ- सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले एनसेलको सेयर खरिद-बिक्रीको विषयमा कार्यक्षेत्रभन्दा बाहिरका संसदीय समितिमा छलफल भएको भन्दै रोष प्रकट गरेका छन्। फेसबुकमा स्टाटस लेख्दै सभापति पोखरेलले भ्रष्टाचार छोप्न कार्यक्षेत्रभन्दा बाहिर गई विभिन्न संसदीय समितिले एनसेलबारे छलफल गरेको आरोप लगाएका हुन्।
एनसेलका विषयमा राज्य व्यवस्था तथा सुशासन समितिले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाएर छलफल गरेको थियो। ‘सरकारी सुण्ड मुसुण्डहरू एनसेल भ्रष्टाचार काण्डसम्बन्धी सार्वजनिक लेखा समितिले गरेको निर्णयलाई र सरकारलाई दिएको दवावलाई कमजोर बनाउन र भ्रष्टाचारलाई छोप्न आफ्नो कार्यक्षेत्रभन्दा बाहिर विभिन्न संसदीय समितिहरूमार्फत् विषय बङ्ग्याउने र जनतालाई भ्रम छर्ने कामको खेद व्यक्त गर्दछु,’ सभापति पोखरेलले लेखेका थिए, ‘जनतालाई सचेत हुन अपिल गर्दछु।’
बिहान ९ बजेर ३ मिनेटमा यस्तो पोस्ट गरेका लेखा समिति सभापति पोखरेलले त्यसलाई दुई पटक एडिट गरेका छन्। पहिलो पटक स्टाटस लेखेको ११ मिनेटमा नै उनले पहिलो एडिट गरेका थिए। त्यसपछि दिउँसो साढे १ बजे पनि त्यसमा थप एडिट गरी भाषा नरम गरेका छन्।

‘सरकारी शक्ति, सत्ता, पहुँच र साधनको प्रयोग गरी सार्वजिक लेखा समितिले गरेको एन्सेल भष्ट्राचार काण्ड सम्बन्धी निर्णयलाई र सरकारलाई दिएको दवावलाई कमजोर बनाउन र भष्ट्राचारलाई छोप्न, आफ्नो कार्यक्षेत्र भन्दा बाहिर विभिन्न संसदीय समितिमार्फत विषय बङ्ग्याउने र जनतालाई भ्रम छर्ने कामको खेद व्यत्त गर्दछु र जनतालाई सचेत हुन अपिल गर्दछु!’
लेखा समिति सभापति पोखरेल प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद पनि हुन्। लेखा समिति सभापतिले राज्य व्यवस्था समितिमा भएको एनसेलको छलफलप्रति लक्षित गर्दै असन्तुष्टि जनाएपछि यसबारे राज्य व्यवस्था समितिको बुधबारको बैठकमा चर्चा भएको थियो।
सत्तारूढ नेपाली कांग्रेसका सांसदसमेत रहेका महामन्त्री गगन थापाले सार्वजनिक लेखा समितिका सभापतिले कार्यक्षेत्रका कुरा उठाएकोमा सभामुखसँग कुरा गर्न राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडालाई आग्रह गरेका थिए। खतिवडा कांग्रेसका सांसद पनि हुन्।
समिति सभापति खतिवडाले आफूले सभामुखसँग कार्यक्षेत्रलगायतका विषयमा कुरा गर्ने बैठकमा जानकारी गराएका छन्।


