काठमाडौँ- नेपालमा वैदेशिक सहायता र आर्थिक विकासबीच कुनै सम्बन्ध नरहेको निष्कर्ष एक अध्ययनले निकालेको छ। एक्सन-एड नेपालले वैदेशिक सहायताको प्रभावकारिता विषयमा गरेको अध्ययन प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो। अर्थविद् डा डिल्लीराज खनालले तयार पारेको प्रतिवेदनमा शुक्रवार राजधानीमा सार्वजनिक गरिएको छ।
नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा हाल वैदेशिक सहायताको साढे ४ प्रतिशत हिस्सा रहेको तथ्याङ्क केलाउँदै अनुसन्धानकर्ता डिल्लीराज खनालले वैदेशिक सहायता र आर्थिक विकास बिच कुनै सम्बन्ध नरहेको निष्कर्ष पस्केका हुन्। वैदेशिक सहायता र देशको नीतिनियमबीच पनि कुनै सम्बन्ध नरहेको निष्कर्ष निकालेका उनले वैदेशिक सहायता आवश्यकता भन्दा टाढा रहेको उल्लेख गरे।
प्रतिवेदनअनुसार वैदेशिक सहायता शिक्षा र स्वास्थ्यमा आवश्यक रहेको बेलामा अधिकांश सहायता भने ऊर्जा क्षेत्रमा रहेको कारण पनि कुनै नतिजा नदेखिएको उनको निष्कर्ष छ।
दिगो विकासका लक्ष्य हासिल गर्न नीतिनियमका कारण वैदेशिक सहायता घट्दो क्रममा रहेको र वैदेशिक सहायतामा सरकारको हस्तक्षेप घट्दा प्रत्यक्ष एजेन्सीमार्फत खर्च गरिने परिपाटी बढ्दो रहेको प्रतिवेदनको सारांश छ।
प्रतिवेदनमाथि टिप्पणी गर्दै पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले वैदेशिक सहायतालाई एक पक्षबाट मात्र मूल्याङ्कन गर्नु भन्दा सहसम्बन्धको हिसाबमा मूल्याङ्कन गर्दा प्रस्ट हुने भनाइ राखे। नेपालको हरेक ठूला परियोजनामा वैदेशिक सहायताको केही न केही हिस्सा रहेको बताउँदै कुनै वैदेशिक सहायता राम्रो र कुनै नराम्रो हुनु स्वभाभीक रहेको डा. खतिवडाले बताए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापतिसमेत रहेका सांसद डा.स्वर्णिम वाग्लेले नियमनकारी निकाय कब्जा गरी नीतिगत रूपमा चरम भ्रष्टाचार भइरहेको बताए। उनले यस्तो देशमा वैदेशिक सहायता दिने देशहरूले वित्तीय पारदर्शितामा बाँध्नुपर्छ भन्ने विषयको पक्षधर रहेको बताए। उनले वैदेशिक सहायता निकायहरूले वित्त सर्त, वित्त अनुशासन र पारदर्शितामा नबाँधे अझ बढी भ्रष्टाचार बढ्ने बताए।
‘यहाँ हरेक नियुक्ति बेचबिखन हुन्छ। नीतिगत सेटिङको हिसाबले नियमावली चैतमा १२ औँ संशोधन गर्नुहुन्छ। कागज मिलाएर अर्बौँको भ्रष्टाचार गर्ने देशमा ठेक्का पट्टाको कुरै नगरौँ। सबैतिर भ्रष्टाचार, पार्टीहरूको आर्थिक बाटो कमसल पूर्वाधारबाट हुन्छ,’ उनले भने, ‘ठेकेदार, नेता र कर्मचारीको मिलेमतोबाट नियुक्ति किनबेच, नीतिगत कब्जा (नियमनकारी निकाय नै कब्जा गर्ने), संवैधानिक निकाय कब्जा गरेर नीतिगत रूपमा नै चरम भ्रष्टाचारको युगमा गएका छौँ। यसको अन्त्य हामी गर्छौँ।’
देशको विकासमा सानो हिस्सा ओगटेको वैदेशिक सहायतामा भन्दा देश विकासमा कर र प्रत्यक्ष वैदेशिक लगानीको प्रभावकारीबारे चर्चा गर्नु पर्ने आजको मुख्य आवश्यकता रहेको उनको भनाई थियो।
कार्यक्रममा टिप्पणी प्रस्तुत गर्दै, पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले देशमा भुईँफुट्टा वर्ग हाबिहुँदा कुनै पनि योजना सफल हुनु नपर्ने परिपाटि विकास भइरहेको बताए। एयरपोर्ट बनाउन माहिर तर चलाउन सधैँ असफल भएको कथा सुनाउँदै शिक्षा र स्वास्थ्यमा वैदेशिक सहायताको हस्तक्षेप नहुँदासम्म यसको प्रभावकारिता महसुस नहुने धारण व्यक्त गरे।
त्यस्तै कार्यक्रमको प्रमुख अतिथि सभामुख देवराज घिमिरेले वैदेशिक सहयोगहरूको सदुपयोग ठिक ढङ्गबाट गर्नका लागि आम जनताको पहुँचमा सहायताको बारेमा जानकारी पुग्नुपर्ने बताए। घिमिरेले वैदेशिक सहयोगको कार्यान्वयन भइरहेका ठाउँको निरीक्षणमा सांसदले प्रभावकारी निगरानी बढाउनुपर्ने बताए।
कार्यक्रममा नारीवादी अर्थशास्त्री भारती सिलवालले वैदेशिक सहायतालाई कुल आर्थिक मूल्याङ्कनमा मात्र सीमित गर्नु भन्दा लैगिङ्क, पिछडिएको वर्ग, समानता, महिला शिक्षालगायतको क्षेत्रमा परेको प्रभावको बारेमा छलफल हुनुपर्ने बताइन्।


