काठमाडौँ- विद्युत महसुल नबुझाएपछि घोराही सिमेन्ट उद्योगको विद्युत लाइन काटिएको छ। विद्युत् प्राधिकरणलाई १ अर्ब ५३ करोड १ लाख ६१ हजारभन्दा बढी रुपियाँ विद्युत् महसुल नबुझाएपछि घोराही सिमेन्ट उद्योगको विद्युत् लाइन काटिएको हो।
आफूले डेडिकेटेड लाइन प्रयोग गरिरहेको बहाना गर्दै विद्युत् प्राधिकरणलाई विद्युत् महसुल तिर्न उद्योगले अटेर गर्दै आएको थियो। विद्युत् प्राधिकरणले डेडिकेटेड विद्युत् लाइन अन्तर्गत उद्योगलाई विशेष विद्युत् लाइनको व्यवस्था गरेको छ।
ननडेडिकेटेड विद्युत्को शुल्क प्रतियुनिट १० रुपियाँ र डेडिकेटेड विद्युत्को महसुल प्रतियुनिट १६ रुपियाँ महसुल तिर्नु पर्छ तर प्राधिकरणले डेडिकेटेड विद्युतुका लागि निर्धारण गरिएपछि उद्योगले महसुल बुझाउन अटेर गरिरहेको थियो।
विद्युत् प्राधिकरण घोराही शाखाका प्रमुख दिवाकर प्याकुरेलका अनुसार डेढ अर्ब रुपैयाँ महसुल बक्यौता रहँदासम्म पनि शुल्क नबुझाएपछि शुक्रबार बेलुका ५ः३० बजे उद्योगको लाइन काटिएको हो।
घोराही सिमेन्ट उद्योगको लाइन काटेको प्राधिकरणले लाखौँ रकम बक्यौता रहेको सोनापुर सिमेन्ट र सम्राट् सिमेन्ट उद्योगको लाइन भने काटेको छैन । सोनापुर सिमेन्ट उद्योगको विद्युत् महसुल बक्यौता ६५ करोड ३२ लाख र सम्राट् सिमेन्ट उद्योगको ४५ करोडभन्दा बढी रहेको छ।


