काठमाडौँ- भारतबाट कुखुराको मासु र अन्डाको अवैध तस्करी रोक्न नेपाल दाना उद्योग संघ र नेपाल ह्याचरी उद्योग संघले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्। दाना संघका अध्यक्ष रविन पुरी र ह्याचरीका अध्यक्ष ऋषिराम पौडेलसहितको टोलीले शनिबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ध्यानाकर्षण गराएका थिए।
भेटमा उनीहरूले नेपालको कृषि क्षेत्रमध्ये पोल्ट्री व्यवसाय आत्मनिर्भर रहेको तर भारतबाट बढेको तस्करीले करिब १ खर्ब ६० अर्ब रुपैयाँ लगानी जोखिममा परेको बताएका थिए। ५ लाख व्यक्तिलाई रोजगारी दिएको र आयात प्रतिस्थापन गर्दै सस्तो मूल्यमा गुणस्तरीय र पोषणयुक्त कुखुराको मासु र अण्डा उपलब्ध गराउँदै आएको व्यवसाय अवैध तस्करीले संकटमा परेको दुवै संघको प्रतिनिधिले गृहमन्त्रीलाई जानकारी गराएका थिए।
‘नेपालको पोल्ट्री क्षेत्रमा सबै भन्दा प्रमुख समस्या देशको खुला सीमानाका रहेको छ। भारतीय सीमा नाकाहरुवाट अवैध रुपमा पोल्ट्रीजन्य वस्तुहरु चल्ला, कुखुरा, तयारी मासु र अण्डा दिनहु भित्रँदा यस पेशालाई अत्यन्त ठुलो जोखिम रहेको छ’ दुवै संघले गृहमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा लेखिएको छ।
ज्ञापनपत्रमा भारतमा समय समयमा देखा पर्ने बर्ड फ्लुको संक्रमणले रोग भित्रने जोखिम र अवैध आयात हुँदा देशको राजस्व चुहावटसमेत हुने गरेको उल्लेख छ।
भारतबाट प्रज्ञापनपत्र लिएका मालबाहक कन्टेनरमा स्विट कर्न, फ्रेन्च फ्राई मात्र उल्लेख हुने गरेको तर तिनै कन्टेनर भन्सार कार्यालयबाट पास हुँदा कुखुराको मासु, माछालगायत भेटिने गरेको भन्दै उनीहरूले नाकामा कडाई गर्न दुवै संघले आग्रह गरेका हुन्।
नेपालगन्ज, कृष्णनगर, भैरहवा, धनगढी, तौलिहवा, त्रिवेणी, परासी, विरगन्ज, वारा, पर्सा, रौतहट, सर्लाही, मलगवा, जलेश्वर, विराटनगर नाकाहरुबाट अवैध रुपमा कुखुरा, तयारी मासु, चल्ला, अण्डा आयात हुने गरेको उनीहरूको दाबी छ।
विशेष गरी भारतीय सीमा नाकाहरुका जिल्लामा सञ्चालित कोल्ड स्टोर्सहरुले भारतबाट अवैध रुपमा कुखुरा आयातगरि ड्रेसिङ्ग गरेर नेपालका प्रमुख शहरहरुमा कुखुराको मासु निर्यात गरिरहेको, भारतीय सीमा नाकाका भन्सार कार्यालयमा सतर्कतापूर्वक चेक जाँच नगर्ने गरेको उनीहरूको गुनासो छ।
सिमामा गृह मातहतकै सशस्त्र प्रहरी बल खटिँदै आएको छ। दुवै संघले भारतीय सीमा नाकाहरुबाट आयात हुने चल्ला, कुखुरा, तयारी मासु, अण्डाहरुको नियन्त्रणका लागि सुरक्षा निकायहरुलाई आवश्यक निर्देशन दिन माग गरेका थिए।
व्यवसायीको गुनासो सुनेपछि गृहमन्त्री श्रेष्ठले सरकार ह्याचरी मात्र नभई कुनै पनि प्रकारको तस्करी हुन नदिने गरी अगाडि बढेको बताएका थिए। आत्मनिर्भर बनिसकेको दाना र ह्याचरी उद्योगलाई असर पर्ने कुनै पनि गतिविधि सह्य नहुने र यसमा संलग्नलाई कारबाहीको दायरामा ल्याउने भन्दै उनले तत्काल सम्बन्धित निकायलाई मन्त्रालयबाट निर्देशन जाने वचन दिएका थिए।


