काठमाडौँ- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकारहरुलाई प्राधिकरणसँग भएका तथ्यांक उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन्। आफूहरूले दिएका तथ्यांकलाई केलाएर विश्लेषण गर्नसमेत कुलमानले सञ्चारमाध्यमलाई आग्रह गरेका छन्।
डेडिकेटेड र ट्रंकलाइसम्बन्धी विवादमा प्राधिकरणले प्रमाण दिन नसकेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला कुलमानले बिहीबार पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन्।
‘हामीसँग उपलब्ध तथ्यांक तपाईंहरुलाई उपलब्ध गराएका छौं। भावी दिनमा चाहियो भने दिन्छौं,’ घिसिङले भने, ‘हामीले कुनैपनि तथ्यांक लुकाएका छैनौं। आज उप्रान्त डेडिकेटेड र ट्रंकलाइनको हकमा कसैले विद्युत प्राधिकरणसँग माग्नुभयो भने हामीसँग उपलब्ध तथ्यांक हामी तपाईंहरुलाई प्रतिबद्धता पनि व्यक्त गर्दछु।’
प्राधिकरणले तथ्यांक लुकायो भन्ने प्रश्नहरु उठेको भन्दै कुलमानले अबदेखि पत्रकारले मागेका तथ्यांक दिने प्रतिबद्धता जनाए। ‘केही सञ्चार माध्यममा प्राधिकरणले तथ्यांक दिन सकेन भन्ने किसिमका विषय आएका छन्,’ घिसिङले भने, ‘आजका दिनबाट हामीहरु सबै प्रकारका तथ्यांक दिने मेरो प्रतिबद्धता छ।’
लोडसेडिङको समयमा ठूला औद्योगिक ग्राहकले असमानरुपले विद्युत प्रयोग गर्दा लोडसेडिङको तालिका बढ्दै गएको गुनासो आएको बताए।
घिसिङले बक्यौता नतिर्ने सबै उद्योगमा बिजुलीको लाइन काट्ने चेतावनी दिए। बक्यौता नतिर्ने उद्योगहरुको लाइन काट्दै जाने प्राधिकरणको रणनीति रहेको उनले प्रष्ट पारे।
डेडिकेटेड तथा ट्रंक लाइनबारे विवाद बढेपछि घिसिङले पत्रकार सम्मेलन आयोजना गरेका हुन्।
घिसिङका अनुसार डेडिकेटेड तथा ट्रंक लाइनबाट उपभोग गरेको ६१ वटा उपभोक्ताको मंसिर २०८० सम्म २२ अर्ब २४ करोड बक्यौता रहेको छ।
यसमध्ये अहिलेसम्म ९ वटा उद्योगको मात्र लाइन काटिएको छ। ती उद्योगको बक्यौता १२ अर्ब ५० करोड रुपैयाँ रहेको उनले जानकारी दिएका छन्।


