काठमाडौँ- सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ। २०८० पुस १२ गते बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले आर्थिक वर्ष २०८०/८१ को लागि गहुँको समर्थन मूल्यप्रति क्विन्टल ३६५०.१४ निर्धारण गर्नेसमेत निर्णय भएको एक मन्त्रीले जानकारी दिए।
बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पुनर्संरचना गर्ने निर्णयसमेत गरेको छ। पुनर्संरचनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका ६८ दरबन्दी कटौती गर्ने भएको छ।
‘बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पुनःसंरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) स्वीकृत गर्ने निर्णय गरेको छ,’ बैठकमा सहभागी एक जना मन्त्रीले भने, ‘यसअनुसार प्रधानमन्त्री कार्यालयको हालको दरबन्दी ६८ वटा कम हुनेछन्।’
यसैगरी, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को रिक्त सदस्य-सचिव पदमा महेश भट्टराईलाई तोक्नेसमेत निर्णय गरेको छ।


