काठमाडौँ – नबिल बैंक लिमिटेडले ११ प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारणसभाबाट पारित गरेको छ।
बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालको अध्यक्षतामा बिहीबार सम्पन्न ३९औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो। बैंक आ.व. २०७९/८० मा रु. ६ अर्ब ४० करोड मुनाफा गर्न सफल भएको थियो।
पौड्यालले विगतका वर्षहरूमा बाँडफाँड गरेको नगद लाभांशका साथै बजार पुँजीकरण तथा जेथामा भएको अभिवृद्धि समेतलाई दृष्टिगत गर्दा नबिल बैंकमा शेयरधनीहरूले लगानी गरेका स्थापना कालको चुक्ता पुँजी हाल सम्म आउँदा ९६० गुणाले वृद्धि भएको बताएका थिए।
संयुक्त राष्ट्रसंघको दिगो विकासका लक्ष्यलाई केन्द्रबिन्दुमा राख्दै बैंकले आफ्नो व्यवसाय विस्तार गरिरहेको र सो अन्तर्गतका विभिन्न लक्ष्यहरू जस्तै गरिबी निवारण, शिक्षा, स्वास्थ्य आदिलाई आधार मानी संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम समेत अगाडि बढाइरहेको जानकारी गराए। त्यस्तै बैंकले स्थापनाकालदेखि हालसम्म देशको राजश्वमा समेत महत्वपूर्ण योगदान दिँदै आएको जानकारी गराए।
नबिलले देशभर २६६ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ। बैंकले १८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आफ्ना सबै सरोकारवालाहरूसँग सँगै अघि बढ्ने विश्वास राखेको छ।


