काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी/व्यवसायी र विद्युत् प्राधिकरणबीचको समस्या समाधानमा सरकारले विशेष प्रयास गर्नुपर्नेमा जोड दिएका छन्।
उद्योग वाणिज्य संघ चितवनको ५७औं वार्षिक साधारणसभा तथा अधिवेशनको उद्घाटन समारोहलाई सम्वोधन गर्दै अध्यक्ष ढकालले उद्योगको विद्युत उत्पादन, रोजगारी र राजश्व लगायत अन्य थुप्रै विषयसँग सम्बन्धित
रहने बताउँदै उद्योगको विद्युत जोडेर वार्ता सुरु गर्न सरकारलाई आग्रहसमेत गरे।
प्राधिकरण र उद्योगीबीच डेडिकेटेड र ट्रंकलाइनलाईसम्बन्धी बक्यौता विवाद छ। निगमले २२ अर्ब भन्दा बढी ६१ उद्योगबाट बक्यौता उठाउन पर्ने बताएपनि उद्योगीहरूले भने आफूहरूमाथि फर्जी बिल बनाएर रकम तिर्न भनिएको बताउँदै आएका छन्।
लगानी सम्मेलनको मुखमा उद्योग बन्द गर्दा नकारात्मक सन्देश जाने बताउँदै यसको दीर्घकालीन समाधानका लागि उच्चस्तरीय आयोग अथवा संयन्त्र जरुरी हुने बताए।
अर्थतन्त्र सुधारको लागि सबै व्यवसायी सकारात्मक सोचका साथ लाग्न जरुरी रहेको बताएका उनले अर्थतन्त्रमा देखिएको समस्या सहज भएपछि छोटो समयमा फड्को मार्न सक्नेगरी काम गर्नुपर्ने बताए।
सरकार र निजी क्षेत्रबिच सहकार्य र एकताले मात्र अर्थतन्त्रलाई लयमा लैजान सकिने बताउँदै निजी क्षेत्र र सरकारबीच वास्तविक सहकार्य हुनुपर्ने उनको भनाइ छ।


