काठमाडौँ- उद्योगी/व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभा मंगलबारदेखि काठमाडौँमा सुरु हुँदैछ। होटल याक एण्ड यतीमा साधारणसभा उद्घाटन गर्ने तय गरिएको छ। बिहान १० बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साधारणसभा उद्घाटन गर्ने कार्यक्रम छ।
महासंघका वरिष्ठ उपाध्यक्ष चयन गर्न बुधबार मतदानको कार्यक्रम हुनेछ। महासंघ विधानअनुसार साधारणसभाबाटै हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः अध्यक्ष बन्नेछन्। प्रत्येक तीन वर्षमा साधारणसभाबाट नयाँ नेतृत्व चयन गर्ने व्यवस्था महासंघ विधानमा छ।
वरिष्ठ उपाध्यक्ष बन्नका लागि चुनावी मैदानमा उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघई छन्। उनीहरूले प्यानल नै खडा गरी चुनावी मैदानमा होमिएका छन्।
उमेशलाल प्यानलमा जिल्ला नगर उपाध्यक्ष बन्न उम्मेदवारी दिनेमा दिनेश श्रेष्ठ छन्। यसअघि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेर अघि बढेका दिनेश श्रेष्ठ उमेशलाल श्रेष्ठ समूहमा आइपुगेका हुन्। यस्तै वस्तुगत उपाध्यक्षका लागि हेमराज ढकालको उम्मेदवारी घोषणा गरिएको छ। एसोसिएट्स उपाध्यक्षमा भरत आचार्य उम्मेदवार छन्।
चैत १ गते अञ्जन श्रेष्ठको टिमबाट एसोसियट उपाध्यक्षका लागि उम्मेदवारी घोषणा गरेकी ज्योत्स्ना श्रेष्ठले टिम परिवर्तन गरी रामचन्द्रको प्यानलमा पुगेकी छन्। संघई प्यानलमा जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण वैद्य र वस्तुगततर्फ सकुन्तलाल हिराचनले उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।
निर्वाचन नजिकिएकै समयमा ज्योत्स्नाे टिम छोड्दा अञ्जन श्रेष्ठ समूहलाई अप्ठेरो परेको थियो। अञ्जनको टिमबाट वस्तुगततर्फ मनिषलाल प्रधान, एसोसियटतर्फ भरतराज आचार्य र जिल्ला/नगरतर्फको अरुणराज सुमार्गी उपाध्यक्षका प्रत्यासी छन्।
सात प्रदेशबाट निर्वाचित हुने ७ जना कार्यसमिति सदस्य पदका लागि १७ जना प्रतिस्पर्धामा छन्। कोशी सदस्यका लागि टंकप्रसाद दुलाल, नरेन्द्रकुमार खड्का र तारानाथ घिमिरेबीच प्रतिस्पर्धा हुँदैछ। मधेशबाट विजयकुमार साह र अरुणकुमार प्रधान उम्मेदवार छन्।
बागमती प्रदेशमा कृषिप्रसाद अवाल र सविन श्रेष्ठबीच प्रतिस्पर्धा छ। गण्डकी प्रदेशमा जीवनज्योति श्रेष्ठ र युवराज राजभण्डारी प्रतिस्पर्धामा हुँदा कर्णाली प्रदेशबाट लालमान बूढा, धनबहादुर राउत क्षेत्री र कुलबहादुर विश्वकर्मा मैदानमा छन्।
सुदूरपश्चिममा रामबहादुर भण्डारी र जंगबहादुर मल्ल चुनावमा जाँदैछन्। लुम्बिनीबाट शम्शेर मियाँ निर्विरोध निर्वाचित भएका छन्। नेपाल–भारत उद्योग वाणिज्य संघबाट सदस्यमा सुनील केसी पनि निर्विरोध भइसकेका छन्।
संस्थापक सदस्य समूहतर्फको सदस्यमा भीष्मप्रसाद न्यौपाने र टीकाराज ढकाल प्रतिस्पर्धामा छन्। उनीहरुमध्ये एक जना चयन हुनेछन्। जिल्ला–नगर, वस्तुगत र एसोसिएटबाट कार्यसमिति सदस्यमा चुनिन ९० जना प्रतिस्पर्धामा छन्। उनीहरूमध्ये ५१ जना निर्वाचित हुनेछन्।
वस्तुगत संघबाट १४ सदस्य निर्वाचित हुनेमा २८ जना प्रतिस्पर्धामा छन्। जिल्लानगरबाट १८ सदस्य चुनिनेमा ३२ जना मैदानमा छन्। १९ एसोसिएट कार्यसमिति सदस्य बन्न ३० जनाले उम्मेदवारी दर्ता गराएका छन्।
बुधबार सकिने साधारणसभाले ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ।


