काठमाडौँ- सन् २०२३ मा ७० हजारभन्दा बढी नेपालीले विभिन्न देशको स्थायी आवास (पाएर) विदेश लागेका छन्। एक वर्षमा १६ लाखभन्दा बढी नेपालीले देश छाडेकोमा ८ लाखभन्दा बढीले श्रमिक भिसामा देश छाडेका हुन्।
अध्यागमन विभागका अनुसार ७० हजार ९१५ जनाले विदेशमा स्थायी बसोबास गर्ने गरी देश छाडेका छन्। तीमध्ये ३६ हजार ६६३ जना पुरुष र ३४ हजार २५१ जना महिला छन् ।
यसैगरी अस्थायी बसोबासका लागि ९२ हजार ३४९ जनाले नेपाल छाडेका छन्। जसमा ५१ हजार ८७६ र ४० हजार ४६८ जना महिला छन् ।
तथ्यांकमा रोजगारी, घुमघाम, परिवारका सदस्यसँग भेटघाट, अध्ययन, स्थायी बसोबास, अस्थायी बसोबास, तालिम, खेलकुद, साँस्कृतिक कार्यक्रम लगायतका प्रयोजनका लागि नेपालबाट बाहिरिएकाहरुको संख्यात्मक विवरण छ ।
रोजगारीका लागि देश छाड्ने नेपालीहरुको संख्या ८ लाख ८ हजार ४१५ छ। रोजगारीका लागि ७ लाख २३ हजार ७८९ पुरुष र ८४ हजार ६०४ जना महिला विदेशिएको अध्यागमन विभागको तथ्यांक छ।
सन् २०२३ मा अध्ययनका लागि १ लाख ८ हजार ५ सय ४२ जना विदेशिएका छन्।



