काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले अर्थतन्त्रका समस्या समाधान गर्न आफू लागिपरेको दाबी गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री बनेको दिनदेखि नै समस्या समाधानका लागि केन्द्रित भएको दाबी गरेका हुन्।
‘सरकारको नेतृत्व सम्हालेको दिनदेखि देखिनै संकट उन्मुख अर्थतन्त्रलाई कसरी चाँडै सहज अवस्थामा ल्याउन सकिन्छ भनेर छलफल भइरहेको छ,’ उनले भने, ‘निजी क्षेत्र बलियो र शसक्त नभई मुलुक समृद्ध हुन सक्दैन। विकासको लक्ष्य प्राप्त गर्न पनि सकिँदैन। यो कुरामा सरकार स्पष्ट । के कस्तो सुधार गर्नुपर्छ, सरकार तयार छ।’
प्रधानमन्त्री दाहालले निजी क्षेत्रले सरकारसँग मिलेर काम गर्ने प्रतिबद्धतसमेत जनाएका थिए। नयाँ संविधान निर्माण भएपछि आर्थिक विकास र समृद्धिमा गुणात्मक फलको अपेक्षा गरेपनि राष्ट्रिय र अन्तराष्ट्रिय परिस्थितीका कारण सम्भव नभएको उनको भनाइ थियो।
वस्तु उत्पादन, बजार व्यवस्थापन, रोजगारी सिर्जना, राष्ट्रिय आयमा वृद्धि र देशको समग्र विकासमा निजी क्षेत्रले उल्लेख्य भूमिका खेल्दै आएको भन्दै उनले सह्राना गरेका थिए। सरकारले लगानीमैत्री एवम् व्यवसायीमैत्री वातावरण बनाउन सहयोग गर्ने उनको भनाइ थियो।
‘कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिई कृषिमा आधारित उद्योगहरुलाई प्रोत्साहन गर्ने नीतिले मात्र अर्थतन्त्रका वास्तविक समस्यालाई समाधान गर्न सकिन्छ,’ उनको भनाइ छ।


