काठमाडौँ- मंगलबार सेयर बजार नेप्सेमा कारोबार दिन नेप्से परिसूचक साढे २ प्रतिशत बढेर बन्द भएको छ। नेप्से बढेसँगै यस दिन कारोबार रकम पनि उच्च दरले बढेको छ।
३०४ कम्पनीको १ लाख ३३ हजार पटकको कारोबारमा ८ अर्ब २ करोड ३८ लाख रुपैयाँ बराबरको २ करोड ३३ लाख ७० हजार कित्ता शेयर कारोबार भएको छ।
करिब २ वर्षपछि नेप्सेको कारोबार रकम ८ अर्ब नाघेको हो। यसअघि २०७८ माघ २० गते साढे ८ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो। सोपश्चात मंगलबार नै ८ अर्बभन्दा बढीको शेयर कारोबार भएको हो।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घटेको छ। त्यसका साथै बैंकहरुले शेयर धितोमा कर्जा प्रवाह गरिरहेका छन्। जसकारण बजारमा कारोबार रकम उच्च हुन थालेको छ।
मंगलबार दर्जन स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमध्ये ८ जलविद्युत कम्पनी रहेका छन्।
८ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।
६३ कम्पनीको मूल्य घट्दा ज्योति विकास बैंकको ऋणपत्रको मूल्य सर्वाधिक ९.९९ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। कम्पनीको २८ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
त्यस्तै, यस दिन निफ्राको २३ करोड २६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चरको कारोबार रकम २१ करोड नाघेको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.७५ प्रतिशत बढेको छ।
त्यसैगरी, यस दिन जलविद्युत, लगानी र लघुवित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।


