काठमाडौँ- नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले आफ्नो विभिन्न प्रणालीमार्फत पुस महिनाको अन्तिम दिनमा ८४ अर्ब रुपैयाँभन्दा बढीको भुक्तानी कारोबार फर्स्याेट गरेको छ।
गत वर्षको सोही दिनमा भएको भुक्तानी कारोबारको तुलनामा सो रकम ७० प्रतिशतले बढी हो।
एनसीएचएलका प्रणालीमध्ये एनसीएचएल–इसिसी, एनसीएसएल–आईपीएस र आरपीएसमार्फत एकै दिन क्रमशः ४१ अर्ब, १४ अर्ब र २९ अर्ब रुपैयाँबराबरको भुक्तानी कारोबार फर्स्याेट भएको कम्पनीले जनाएको छ।
यसैगरी, पुस मसान्तको अन्तिम दिनमा एनसीएचएल–आईपीएस र आरपीएसमार्फत १.६ अर्ब रुपैयाँबराबरको राजस्व संकलन तथा ६.८ अर्ब रुपैयाँबराबरको सरकारी खर्चसम्बन्धी एक लाख २५ हजारभन्दा बढी कारोबार भएका छन्।
एनसीएचएलका भुक्तानी प्रणालीहरूमा डाइरेक्ट सदस्यका रूपमा ५३ बैंक तथा वित्तीय संस्था इनडाइरेक्ट/टेक्निकल सदस्यका रूपमा सयभन्दा बढी गैरबैंकिङ संस्थाहरूले प्रयोग गर्दै आएका छन्।
