काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी सम्बन्धी समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन्।
बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन्।
प्रधानमन्त्रीले सहकारीलाई समाजवादको भ्रुण खडा गर्ने, सामूहिकता र तल्लो वर्गको हितमा केन्द्रित गर्ने गरी ऐनमा नै व्यवस्था हुनुपर्ने बताउँदै दीर्घकालीन र तत्कालीन उपाय अपनाएर सहकारीहरुलाई व्यवस्थित बनाउनुपर्ने बताए। यसमा आवश्यक गृहकार्य गर्न उनले सरोकार मन्त्रालय र निकायलाई निर्देशनसमेत दिए।
सहकारीको अनुगमनका लागि प्रभावकारी नियामक निकाय बनाउनुपर्ने विषयमा आफ्नो ध्यान गएको भन्दै सहकारी सम्वन्धी हाल कार्यरत नियामक संस्थाहरुलाई राम्रा, संकटमा रहेका र डुवेका सहकारीहरुको वर्गीकरण गरी प्रतिवेदन पेश गर्न निर्देशन दिए।
सहकारीमा बचतकर्ताले राखेको रकमको सुरक्षामा ध्यान दिन आग्रह गर्दै यसमा तिन वटै तहका सरकारको समन्वयमा प्रभावकारी कदम चाल्नुपर्ने औँल्याए।
सहकारी सम्बन्धी छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ, नेपाल सरकारका मुख्य सचिव बैकुण्ठ अर्यालसहित सम्वन्धित मन्त्रालय, विभाग र निकायका अधिकारीहरू उपस्थित थिए।
