काठमाडौँ- संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले आफ्नो एकवर्षे उपलब्धि सार्वजनिक गरेका छन्। बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले १५ पृष्ठ लामो प्रगति विवरण सार्वजनिक गरेका हुन्।
विवरणमा सगरमाथादेखि, पशुपति र लुम्बिनीसम्ममा भए गरेका कामको फेहरिस्त समावेश छन्। किराँतीले नीतिगत सुधारतर्फ वायुसेवा निगम र नारायणहिटी दरबार संग्रहालयमा ई-टिकट प्रणाली लागू गरिएको उल्लेख गरेका छन्।
पर्वतारोहण सुरक्षाको लागि पर्यटक सूचना व्यवस्थापन प्रणाली (टीआईएमएस) लागू गरिएको, वर्षौंदेखि गैरकानुनी तरिकाबाट पशुपतिमा नियुक्ति गरिएका सयभन्दा बढी संख्याका सल्लाहकार खारेज गरिएको, पशुपति गौशाला धर्मशालाको सम्झौता रद्द गरी समसामयिक बनाउन नयाँ प्रक्रिया थालनी गरिएको मन्त्री किराँतीको भनाइ छ।
दोलखाबाट हराएको बज्रधरको मूर्ति २८ वर्षपछि हङकङबाट फिर्ता गरिएको, नेपालबाट विभिन्न समयमा विदेशिएका मूर्तिहरू हालसम्म १४५ वटा फिर्ता ल्याइएको उपलब्धिमा समावेश छन्।
सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने राष्ट्रिय लक्ष्य पूरा भइसकेको पनि उनको भनाइ छ।
नेपाल र रुवाण्डाबीच हवाई सेवा सम्झौता सम्पन्न भएको, स्वीजरल्याण्ड र इण्डोनेसियासँग द्विपक्षीय हवाई सम्झौता गर्ने प्रकृया अन्तिम चरणमा रहेको किराँतीले जानकारी दिए।
सगरमाथाको चुचुरोबाट स्काइडाइभिङ परीक्षण गरिएको, सिन्धुपाल्चोकको जुगल हिमश्रृखंलामा पर्ने ५ वटा नयाँ हिमाल आरोहणका लागि खुला गरिएको पनि उनको भनाइ छ।
८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरूको चिनारी (प्रोफाइल) तयार गरिएको, भूकम्पबाट क्षति भएका सम्पदाको मतसम्भार र पुनर्निर्माणको कार्य भएको किराँतीको दाबी छ।
यस्तो छ मन्त्री किराँतीको उपलब्धि दाबीपत्र


