काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगीका मुख्य आरोपी गितेन्द्रबाबु (जीबी) राईलाई सरकारले किन पक्राउ नगरेको भन्दै सरकारलाई प्रश्न गरेका छन्। सहकारी ठगी प्रकरणमा सभापति लामिछानेको समेत नाम मुछिएपछि सोमबार पत्रकार सम्मेलन आयोजना गरी लामिछानेले यस्तो प्रश्न उठाएका हुन्।
आफूविरुद्ध लागेका आरोपहरुको प्रमाण संकलन गरिरहेको र कानुनी उपचारमा जाने तयारी गरेको उनको भनाइ थियो। तर जीबी राईलाई भने सरकारले नपक्रेको विषयमा उनको आपत्ति थियो।
‘पूर्व उपप्रधानमन्त्रीलाई समाउन सक्ने सरकारले जीबी राईलाई किन समाउन सक्दैन र? एक जना जीबी राईलाई समाउन सक्दैन र? तर मलाई कताकता यो फायल खोल्दै जाँदा उहाँहरुका आफन्त धेरैको नाम आउँछ कि भनेर हो कि म हेर्दैछु उहाँहरुलाई’, लामिछानेको भनाइ छ, ‘र, जीबी राईजी तपाई जहाँ हुनुहुन्छ। एउटा कुनै समय टेलिभिजनमा सहकार्य गरेको मित्रको हिसाबले। यति धेरै मानिसहरु पीडित छन्। उनीहरुलाई तपाईँले कहीँबाट आएर तिनको पैसा, डिपोजिट कसरी फिर्ता गर्नुहुन्छ? गर्नुस्’, लामिछानेले भने, ‘कुन सम्पत्ति बेचेर फिर्ता गर्नुहुन्छ। मकै पोलेर जम्मा गरेकाहरुको पैसा जस्ताको तस्तै व्याजसहित संसारको जुन कुनामा भएपनि फिर्ता गर्नुहोस्।’


