नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयन गर्न मतदान जारी छ। अपराह्न ४ बजेसम्म जारी हुने मतदान बिहान ८ बजे काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी छ।
दिउँसो केहीबेर मतदान कार्य रोकिएको थियो। जिल्ला/नगरका मतदाता तथा समर्थक एसोसिएटको मतदानस्थलमा होहल्ला गर्न आएपछि मतदान अवरुद्ध भएको थियो। निर्वाचन समितिका अधिकारीहरु आएर होहल्ला गर्नेहरुलाई हटाएपछि मतदान पुनः सुरु भयो।
महासंघको कार्यसमिति सदस्यमा चार जना सर्वसम्मत निर्वाचित भइसकेका छन्। एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चयन गर्न मतदान भइरहेको हो। मतदानस्थल वरपर आफूले समर्थन गरेका उम्मेदवारलाई भोट माग्ने क्रम जारी छ। प्रतिष्ठान भवन वरपर ब्यानर प्रदर्शनको प्रतिस्पर्धा देखिन्छ।
महासंघको विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ३० चैतदेखि स्वतः महासंघको अध्यक्ष बन्दैछन्। प्रत्येक तीन वर्षमा साधारणसभाबाट नयाँ नेतृत्व चयन गर्ने व्यवस्था महासंघ विधानमा छ।
वरिष्ठ उपाध्यक्ष बन्नका लागि चुनावी मैदानमा उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघई छन्। उनीहरूले प्यानल नै खडा गरी चुनावी मैदानमा होमिएका छन्।
उमेशलाल प्यानलबाट जिल्ला नगर उपाध्यक्ष बन्न उम्मेदवारी दिनेमा दिनेश श्रेष्ठ छन्। वस्तुगत उपाध्यक्षका लागि हेमराज ढकाल उम्मेदवार छन्। यो प्यानलमा एसोसिएट्स उपाध्यक्षमा भरत आचार्य उम्मेदवार बनेका छन्।
ज्योत्स्ना श्रेष्ठ रामचन्द्रको प्यानलमा एसोसियट उपाध्यको उम्मेदवार बन्न पुगेकी छन्। संघई प्यानलमा जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण वैद्य र वस्तुगततर्फ सकुन्तलाल हिराचनले उपाध्यक्ष पदका लागि प्रतिस्पर्धा गरिरहेका छन्।
अञ्जनको टिमबाट वस्तुगततर्फ मनिषलाल प्रधान, एसोसियटमा भरतलाई नै अञ्जनको समर्थन छ। जिल्ला/नगरतर्फको अरुणराज सुमार्गी उपाध्यक्षका प्रत्यासी छन्।
सात प्रदेशबाट निर्वाचित हुने ७ जना कार्यसमिति सदस्य पदका लागि १७ जना प्रतिस्पर्धामा छन्। कोशी सदस्यका लागि टंकप्रसाद दुलाल, नरेन्द्रकुमार खड्का र तारानाथ घिमिरेबीच प्रतिस्पर्धा हुँदैछ। मधेशबाट विजयकुमार साह र अरुणकुमार प्रधान उम्मेदवार छन्।
बागमती प्रदेशमा कृषिप्रसाद अवाल र सविन श्रेष्ठबीच प्रतिस्पर्धा छ। गण्डकी प्रदेशमा जीवनज्योति श्रेष्ठ र युवराज राजभण्डारी प्रतिस्पर्धामा हुँदा कर्णाली प्रदेशबाट लालमान बूढा, धनबहादुर राउत क्षेत्री र कुलबहादुर विश्वकर्मा मैदानमा छन्। सुदूरपश्चिममा रामबहादुर भण्डारी र जंगबहादुर मल्ल चुनावमा जाँदैछन्।
संस्थापक सदस्य समूहतर्फको सदस्यमा भीष्मप्रसाद न्यौपाने र टीकाराज ढकाल प्रतिस्पर्धामा छन्। उनीहरुमध्ये एक जना चयन हुनेछन्। जिल्ला–नगर, वस्तुगत र एसोसिएटबाट कार्यसमिति सदस्यमा ५१ जना निर्वाचित हुनेछन्।
वस्तुगत संघबाट १४ सदस्य निर्वाचित हुनेमा २८ जना प्रतिस्पर्धामा छन्। जिल्लानगरबाट १८ सदस्य चुनिनेमा ३२ जना मैदानमा छन्। १९ एसोसिएट कार्यसमिति सदस्य बन्न ३० जनाले उम्मेदवारी दर्ता गराएका छन्।
साधारणसभाबाट ६४ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ।











