काठमाडौं- व्यवसायी चन्द्रप्रसाद ढकाल नेपाल उद्योग महासंघको अध्यक्ष बनेका छन्। महासंघको विधानमा अघिल्लो कार्यकालको वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने व्यवस्था गरिएकाले ढकालको हातमा महासंघको नेतृत्व आएको हो। आगामी ३ वर्षसम्म उनी महासंघको अध्यक्ष हुनेछन्।
बाग्लुङको साविक अमालचौर गाविसमा सामान्य परिवारमा जन्मिएका ढकालले राष्ट्रिय वाणिज्य बैंकमा खरिदारको जागिर सुरु गरेका थिए। उक्त काम छोडेर सामान्य प्रकृतिको कोल्डस्टोरबाट व्यावसायिक यात्रा सुरु गरेका ढकालले तीन दशकमा उद्योगी/व्यवसायीको छाता संस्थाको नेतृत्वसम्म आइपुगेका हुन्। उनले बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, हस्पिटालिटी तथा पर्यटन, अटोमोबाइल्स, जलविद्युत, खेलकुद लगायतका विभिन्न १० क्षेत्रमा अर्बौँ रकम लगानी गरेका छन् भने सयौँलाई रोजगारी दिएका छन्।
व्यवसायकै क्रममा ठमेलमा कार्गो र मनी एक्सचेन्ज चलाउँथे। कार्गो व्यवसाय गर्नेक्रममा अमेरिका पुगेका ढकाल जापानमा गएर करिब १० महिना काम गरेका थिए। जापानबाट नेपाल फर्किएपछि उनले मनी ट्रान्सफर सेवा सुरु गरेका थिए। त्यही मनी ट्रान्सफर व्यवसायले ढकाललाई दिनहुँ ट्रान्सफर गरिरहेको छ। सामान्य व्यवसायीबाट अब देशभरका व्यवसायीको नेता बनेका छन्।
मनी एक्सेचेन्ज कम्पनीलाई नै ग्लोबल आइएमई रेमिट कम्पनीमा परिणत गरेका थिए। २०५७ सालमा राष्ट्र बैंकसँग अनुमति लिएर सञ्चालनमा ल्याइएको आइएमईलाई रेमिट्यान्स कम्पनीको रुपमा चित्रित गर्न ढकाल सफल भएका थिए। यसलाई सफल बनाउन मलेसियादेखि गाउँगाउँमा निकै ठूलो चक्कर काटेको बताइन्छ।
यसैगरी वित्तीय क्षेत्र अन्तर्गत ग्लोबल आईएमई क्यापिटल, आइएमई पे, आइएमई डिजिटल सर्भिस र आइएमई सहकारी रहेका छन्। यसैगरी बिमातर्फ आइएमई जनरल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्समा ढकालको लगानी रहेको छ।
२०६३ सालमा क्षेत्रीयस्तरको ग्लोबल बैंक खोलेर उनी वित्तीय क्षेत्रमा समेत प्रवेश गरेका थिए। आईएमई फाइनान्स पनि खोलेका उनले अहिले सबैलाई गाभेर बैंक ग्लोबल आइएमई बनाएको छन्। नेपाली बैंकिङ क्षेत्रमा ग्लोबल ‘जाइन्ट’ बैँक बनेर खडा भएको छ। उमेरले ढकाल ५८ वर्षमा हिँडिरहेका छन्।
विभिन्न १० क्षेत्रमा लगानी
आईएमई ग्रुपमार्फत ढकालले १० क्षेत्रमा लगानी विस्तार गरेका छन्। वित्तीय ग्लोबल आईएमई बैंकमा २१ वटा बैँक तथा वित्तीय संस्था गाभिएका छन्। बैंकमा ५ वाणिज्य बैंक, १० विकास बैंक र ६ वित्त कम्पनी गाभिएको छ। पछिल्लो ग्लोबलले जनता बैंक र बैंक अफ काठमाण्डूलाई प्राप्ती गरेको हो। यो बैंक नेपालकै सबैभन्दा ठूलो बैंक बनेको छ। ५७ अर्ब चुक्ता पुँजी रहेको यस बैंकको अध्यक्षमा उनै ढकाल छन्।
यसैगरी वित्तीय क्षेत्र अन्तर्गत ग्लोबल आईएमई क्यापिटल, आइएमई पे, आइएमई डिजिटल सर्भिस र आइएमई सहकारी रहेका छन्। यसैगरी बिमातर्फ आइएमई जनरल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्समा ढकालको लगानी रहेको छ।
जलविद्युत अन्तर्गत हिमालयन पार्टनर पावर लिमिटेड र माउन्टेड इनर्जी नेपालमा पनि ढकालको लगानी छ। यसैगरी सूचना प्रविधिको क्षेत्रमा स्विफ्ट टेक्नोलोजी, मिडास टेक्नोलोजी, अटोमोबाइलको क्षेत्रमा आइएमई अटोमोटिभ्स र आइएमई मोटर्समा ढकालले लगानी गरेका छन्।
हस्पिटालिटी तथा पर्यटन अन्तर्गत चन्द्रागिरी हिल्स, द लेकसाइड रिट्रिट, होटल अफ हिमालय, आइएमई ट्राभल्स, लुम्बिनी केवलकार र मौलाकाली केवलकारमा ढकालको लगानी छ।
रिटेल तथा व्यापारतर्फ माइमार्ट नेपाल र सिएम ट्रडेङ प्रालिमा उनको लगानी छ। इन्फोटेक अन्तर्गत डिसहोम र लजिस्टिक अन्तर्गत माउन्टेन पुमरी कार्गोको लगानी छ। पछिल्लो समय आइएमई ग्रुप मार्फत ढकालले खेलकुदतर्फ पनि लगानी बढाएका छन्। एफसी चितवन ढकालकै फुटबल क्लब हो।
ढकाल २०७७ मंसिर १४ मा महासंघको वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका थिए। उनले निकटम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै महासंघमा वरिष्ठ उपाध्यक्षमा जित हासिल गरेका हुन्।
ढकाल चतुर व्यवसायी मानिन्छन्। वरिष्ठ उपाध्क्षको रुपमा कुनै पनि समय ब्याजदरका विरोधमा बोलेनन्। बरु बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंककै समर्थनमा उनले मौन समर्थन जनाए। पछिल्लो समय ढकाल उत्पादनमूलक उद्योगहरुमा लगानी बढाइरहेकाले उनले आगामी दिनहरुमा उद्योगीहरुको पक्षमा सरकारसँग लबिङ गर्ने अनुमान गर्न सकिन्छ। तर, उद्योगी त्यति ढुक्क भने हुन सकेका छैनन्।
महासंघभित्र सबैभन्दा ठूलो बैंकरको रुपमा स्थापित ढकालले उद्योगी/व्यवसायीको पक्षमा बोल्ने विषयमा शंका गर्ने व्यवसायी थुप्रै छन्। जिल्लानगरको भ्रमणमा ब्याजदर र तरलता अभावको विषयमा ढकाल नबोलेको भन्दै उनको विरोध भएको थियो। चर्को विरोधपछि महासंघको चुनाव आउँदै गर्दा उनी ब्याजदर घट्नुपर्ने पक्षमा उभिए।
ढकाल २०७७ मंसिर १४ मा महासंघको वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका थिए। उनले निकटम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै महासंघमा वरिष्ठ उपाध्यक्षमा जित हासिल गरेका हुन्।
शेखर गोल्छा र ढकालबीच ब्याजदरको विषयमा लिएर महासंघमा निकै ठूलो विवाद भएको बताइन्छ। गोल्छा ब्याजदर घटाउनुपर्ने पक्षमा उभिएका थिए भने ढकाल ब्याजदरलाई खुला छोड्नुपर्ने पक्षको वकालत गरिरहे। त्यसैले उनीसँग साना तथा मझौला उद्योगी/व्यवसायी खुशी भएनन्।
महासंघ अध्यक्षका रूपममा ढकाललाई केही चुनौती आइपर्ने देखिएका छ। एकातर्फ उद्योग वाणिज्य महासंघ हाक्नुपर्ने दबाब उनीसँग हुनेछ भने अर्कोतर्फ उद्योगी/व्यवसायीको हकहितको पक्षमा वकालत गर्नुपर्ने दबाब हुनेछ। यसैगरी बैंक तथा वित्तीय संस्थाले बढाउने ब्याजदर र तरलता अभावबारेमा समेत उनले देशभरका उद्योगी तथा व्यापारी/व्यवसायीको स्वार्थअनुरूप काम गर्नुपर्ने हुन्छ। यसमा कतिपय उनकै व्यवसायका कारण स्वार्थको द्वन्द्व हुन सक्नेछ।
महासंघसँगै उनी आईएमई ग्रुप, ग्लोबल आईएमई बैंक, केवलकार व्यवसायी संघको अध्यक्षको कार्यबोझ व्यवस्थापन पनि उनलाई सहज हुनेछैन। महासंघमा बढी समय दिनुपर्ने, उद्योगी व्यवसायीको कुरा सुन्नुपर्ने, सरकारसँग व्यवसायीको पक्षमा लबिइङ गर्नुपर्नेलगायतका कामको दबाब हुनेछ। यद्यपि दबाबलाई सिर्जनात्मक रूपमा लिने सक्ने क्षमता भएकैले हुनुपर्छ, व्यवसायमा पछि फर्कनु परेको छैन।
