बागलुङ- इमेज बचत तथा ऋण सहकारी संस्थाकी कोषाध्यक्ष लक्ष्मीसेन सुनार पुर्पक्षका लागि थुनामा पठाइएकी छन्।
सर्वसाधारण बचतकर्ताले सहकारीमा जम्मा गरेको रकम अपचलन गरी ठगी गरेको मुद्दाकी अभियुक्त सुनारलाई बाग्लुङ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो।
२७ वर्षीया सुनारविरुद्ध गत असार १० गते पक्राउपुर्जी जारी भएको थियो। जिल्ला प्रहरीले अदालतमा पेस गरेपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको बाग्लुङ प्रहरीले जानकारी दिएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले निसीखोला गाउँपालिका–३ घर भएकी सुनारलाई ललितपुरको धोबीघाटबाट गत बिहीबार बेलुकी पक्राउ गरेको थियो।
बचतकर्ताको डेढ अर्बभन्दा धेरै रकम हिनामिना गरेको आरोप लागेपछि सहकारीका संस्थापक तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीसहितका सञ्चालक फरार छन्।
मुद्दाकै आधारमा सहकारीका अन्य पदाधिकारी चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परिसकेका छन्। उनीहरूलाई जिल्ला अदालत बागलुङको गत साउन ५ गतेको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको हो।
भण्डारी, बुढा र किसान साउन ५ गते नै थुनामा गएका थिए भने सोही आदेशकै आधारमा परियार र बुढामगर पुस पहिलो साता पक्राउ परेका हुन्।
सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीसहितको ठगी मुद्दामा ९ जनालाई पक्राउ आदेश जारी भएको छ। तीमध्ये अहिलेसम्म ६ जना पक्राउ परिसकेका छन्।


