काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको मत परिणाम आउन सुरु भएको छ। महासंघ उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ, सुरकृष्ण वैद्य र हेमराज ढकाल विजयी भएका छन्।
जिल्ला/गनरबाट रामचन्द्र संघई प्यानलबाट उपाध्यक्ष बनेका सुरकृष्ण वैद्य निर्वाचित भएका हुन्। जिल्ला/नगरको तर्फको कुल ११७ मतमध्ये वैद्यले ४३ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी अरुणराज सुमार्गीले ३७ मत प्राप्त गरे भने अर्का प्रत्यासी दिनेश श्रेष्ठले ३४ मत ल्याए। अञ्जन श्रेष्ठको प्यानलबाट अरुणराज सुमार्गी र उमेशलाल श्रेष्ठको टीमबाट दिनेश श्रेष्ठ उपाध्यक्ष पदको उम्मेदवार बनेका थिए।
वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भए। वस्तुगततर्फ १२३ मत खस्दा ढकालले ६१ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्दी मनिषलाल प्रधानले ५२ मत ल्याउँदा अर्का उम्मेदवार शकुन्तलाल हिराचनले ७ मत पाए। ढकाल उमेशलाल प्यानलबाट चुनावी प्रतिस्पर्धामा थिए। मनिषलाल अञ्जनको टिमबाट र हिराचन संघई प्यानलबाट वस्तुगततर्फको उपाध्यक्षको आकांक्षी थिए।
यस्तैगरी एसोसियट्सतर्फ विजयी ज्योत्स्ना श्रेष्ठले भरत आचार्यलाई पराजित गरिन्। उनले ८३८ मत ल्याइन्। उनका निकटतम प्रतिस्पर्धी भरत आचार्यले ७८८ मत पाए। ज्योत्स्ना सुरुमा अञ्जन श्रेष्ठको टीमबाट एसोसियट्सतर्फको उपाध्यक्ष बन्ने घोषणा गरे पनि अन्तिम समयमा आएर रामचन्द्र संघईको टीममा पुगेकी थिइन्।
भरत आचार्य भने अञ्जन श्रेष्ठ र उमेशलाल प्रधानका साझा उम्मेदवार हुँदा पनि पराजित बने। ज्योत्स्ना संघई टिममा गएपछि अञ्जनको टीमबाट प्रबलजंग पाण्डे चुनावी प्रतिपर्धामा उत्रिने तयारी गरेका थिए। तर अन्तिम समयमा आएर आचार्यको नाममा सहमति भएको थियो। आचार्य र पाण्डे दुवै व्यावसायिक साझेदार एवम् मिल्ने साथी भएकाले आचार्यको नाममा पाण्डेले सहमति जनाएका थिए।
केहीबेर अघि सार्वजनिक गणनाअनुसार एसासिएटबाट कार्य समिति सदस्यहरुमा अम्बिकाप्रसाद पौडेल, अविनाश बोहोरा, आनन्द बगरिया, उज्वलकुमार श्रेष्ठ, गोपाल खनाल, रामशरण थपलिया, देशबन्धु बस्नेत, प्रवलजंग पाण्डे, मनोज पौडेल, राजेशकुमार अग्रवाल, सुशील थापा, शैलेन्द्र गुरागाई, सुनिलनारायण श्रेष्ठ, शक्तिकुमार बेगानी, सन्दिपकुमार अग्रवाल, जुना माथेमा र हेमन्त गोल्छा निर्वाचित भएका छन्।
जिल्लानगरबाट मोहनप्रसाद श्रेष्ठ, प्रयास कार्की, अमरेश चन्द्र बैदार, तारा बहादुर कार्की, नवीन रिजाल, कल्पना गैरे, उमेश डालमिया, बेदबहादुर श्रेष्ठ, मन्जु कुमार श्रेष्ठ कोजु, अब्दुल वाहिद मन्सुरी, किशोरकुमार आचार्य, केशवप्रसाद भण्डारी, कृष्ण कटुवाल, पुष्पराज कुँवर, अनिल कृष्ण श्रेष्ठ, गोकुल श्रेष्ठ र निरक केसी निर्वाचित भएका छन्।
जिल्लानगरमा उमेशलाल श्रेष्ठको वर्चस्व देखिएको छ। उमेशलाल प्यानलबाट निरक केसी, अब्दुल वाहिद मन्सुरी,कल्पना गैरे,किशोरकुमार आचार्य,गोकुल श्रेष्ठ, मन्जुकुमार श्रेष्ठ कोजु, मोहनप्रसाद श्रेष्ठ, तारा बहादुर कार्की,उमेश डालमिया, प्रयास कार्की निर्वाचित भएका छन् भने अन्जन श्रेष्ठ प्यानलबाट नवीन रिजाल, प्रयास कार्की, अमरेश चन्द्र बैदार,पुष्पराज कुँवर, अनिलकृष्ण श्रेष्ठ, कृष्ण कटुवाल र बेदबहादुर श्रेष्ठ निर्वाचित भएका छन्।
वस्तुगत तर्फको कार्यकारिणी समितिमा ८ जना कार्यसमिति सदस्य उमेशलाल श्रेष्ठको प्यानलबाट निर्वाचित भएका छन् भने अन्जन श्रेष्ठको टिमबाट ६ जना सदस्य निर्वाचित भएका छन्। उमेशलाल प्यानलबाट कमला श्रेष्ठ, डा. सुबोध कुमार गुप्ता, नानीराज घिमिरे, नरेशलाल श्रेष्ठ, पशुपतिदेव पाण्डे, भक्तबहादुर हमाल, लिलेन्द्रप्रसाद प्रधान र हरिबहादुर कार्की निर्वाचित भएका छन्।
अन्जनको प्यानलबाट अरनिको राजभण्डारी, मनोज अधिकारी, रविन पुरी, राजकुमार कार्की “राजु”, शिवप्रसाद घिमिरे र शोभा ज्ञवाली निर्वाचित भएका छन्।


