काठमाडौँ- प्रमुख प्रतिपक्षी एमालेका सांसद रघुजी पन्तले नेपालमा १ हजार र ५ सयका नोटहरू सरकारले बजारबाट फिर्ता लिनुपर्ने बताएका छन्।
देशमा डिजिटल बैंकिङ बढिरहेको र कागजी नोट प्रयोगमा कमी आइरहेको बताउँदै उनले १ हजार र ५ सय दरका नोटहरू सरकारले बजारबाट फिर्ता लिनुपर्ने बताएका हुन्।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा सांसद पन्तले यस्तो माग अघि सारेका हुन्।
सुरक्षण मुद्रण विधेयक, २०८० माथि आफूले राखेका संशोधनको पक्षमा बोल्दै उनले सरकारले ठूला दरका नोट फिर्ता लिनुपर्ने बताए।
‘१ हजार र ५ सयका नोट सरकारले बिस्तारै बजारबाट खिच्दा हुन्छ। अहिले कारोबार डिजिटल भइसक्यो। सामान्य कारोबारका लागि २०-५० दरका नोट भए हुन्छ,’ उनले भने, ‘अमेरिकी डलर १०० भन्दा बढी त छैन, चलिरहेको छ संसारमा। डिजिटल इकोनोमिक सर्कुलेसन चलिरहेको छ। तपाईंको हातमा नगद नोटको आवश्यकता नहुन सक्छ।’
उपयोगिताको ह्रासको नियमलाई ख्याल राखेर आगामी ५० वर्षका विषयमा विचार गरी कागजी नोटबारे सोच्नुपर्ने पन्तको भनाइ थियो।


