काठमाडौँ– सरकारले आन्तरिक राजस्व विभागका महानिर्देशक परिवर्तन गरेको छ।
यसअघिका महानिर्देशक दीर्घराज मैनालीलाई हटाएर अर्थ मन्त्रालयले भूपाल बराललाई विभाग महानिर्देशकको जिम्मेवारीमा पठाएको हो।
बराल अर्थ मन्त्रालयको वित्तीय व्यवस्थापन तथा समन्वयन महाशाखा प्रमुख थिए। बराल चालु आर्थिक बजेटको मस्यौदा लेखन समितिको संयोजक थिए।
बरालले समाल्दै आएको महाशाखाको जिम्मेवारीमा मैनालीलाई ल्याइएको अर्थ मन्त्रालयले जनाएको छ।
मैनालीलाई तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारीमा पठाएका थिए।
यस्तै, त्रिभुवन विमानस्थलका भन्सार कार्यालय प्रमुख टोकराज पाण्डेलाई मन्त्रालय तानिएको छ। उनलाई प्रशासन महाशाखाको जिम्मेवारी दिएको छ।
यता भन्सार विभागका उपमहानिर्देशक सेमन्त पोखरेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ।
पोखरेलको स्थानमा आन्तरिक राजस्व विभागका उपमहानिर्देशक टंक पाण्डेलाई पठाइएको छ।
यसअघि प्रशासन महाशाखामा रहेका महेश आचार्यलाई नीति विश्लेषण महाशाखाको जिम्मेवारी तोकिएको छ।
बाबुराम सुवेदी सेवा निवृत्त भएपछि नीति विश्लेषण महाशाखामा आचार्यको सरुवा गरिएको हो।
