काठमाडौँ- बाँसबारी छालाजुत्ता कारखानाबाट निजीकरण गरिएको १० रोपनी जग्गा सरकारकै नाममा फिर्ता ल्याउने प्रक्रिया सुरु भएको छ।
उद्योगी अरुण चौधरीसमेतले उक्त जग्गा गैरकानुनी तवरबाट निजीकरण गराएको भन्दै फिर्ता ल्याउनका लागि प्रक्रिया सुरु भएको हो।
बिहीबार डिल्लीबजार मालपोत कार्यालयले चौधरीको कम्पनी सीजी चाँदबाग रेसिडेन्सीलाई पत्र काट्दै २१ दिनभित्र उपस्थित हुन भनिएको छ। ‘जग्गाको स्रेस्ता अद्यावधिक गरी सरकारको नाममा ल्याउन आदेश भएको’ भन्दै उक्त पत्र पठाइएको हो।
चाँदबाग रेसिडेन्सीका अध्यक्ष सञ्जय ठाकुरले मालपोत कार्यालयबाट जारी गरेको ‘म्याद’ बुझेका छन्।
समयमा उपस्थित नभएमा ‘कानुन बमोजिम हुने’ मालपोत्र कार्यालयको पत्रमा उल्लेख गरिएको छ।
यसअघि बिहीबार चौधरी पक्राउ परेका थिए। चौधरीले उक्त जग्गामा प्रक्रिया पुगे/नपुगेको विषयमा आफूलाई जानकारी नभएको तर जग्गा फिर्ता गर्नुपर्ने भए फिर्ता गर्न राजी भएको बयान दिएका थिए।
चौधरी र ठाकुर बुधबार मात्र हाजिरीजमानीमा रिहा भएका छन्।

