२०८३ साउन १३ गते बुधबार

गीतमै रेलको सपना देखिरहन्छ नेपाल

 |  जहेनसीब
Sanket

जहेनसीब

काठमाडौँ, चैत २
news (1)

वि. स‍ं. २०७२ को नाकाबन्दीताका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रेलको प्रसंग आफ्ना भाषणहरूमा यसरी गरे कि मानौँ उनले भाषण गरेको भोलिपल्टै नेपालमा रेल आउँदैछ। उसो त पानीजहाज पनि त्यसैगरी नेपालको झण्डा बोकेर फहराइगयो। पानीजहाजको टिकट काट्न प्रधानमन्त्री ओलीले भनेकै दिन पुग्दा मानिसहरू टिकट ओभरबुक भएको कारण निराश भएर फर्किएको समेत देख्न पाइयो। पाइपबाटै घरघरका चुलाचुलामा ग्यास पुगिगयो।

खैर कुरा रेलको हो। तत्कालीन काठमाडौँका मेयर विद्यासुन्दर शाक्यले पनि मोनोरेल र मेट्रोरेलका कुरा चुनावअगाडि घोषणापत्रमै राखे। रेलको चर्चा यसरी चुलियो कि अत्यधिक मतान्तरले उनले जिते पनि। खैर, उनको जितको कारक अरू पनि थिए होलान् तर महानगरमा रेल कुदाउने गफै मात्र पनि प्रतिष्ठाको विषय थियो। मेयर शाक्यको कार्यकालभरि रेल कुद्ने त कुरै छाडौँ, रेलबारे कति अनुसन्धान भयो/भएन, त्यो पनि थाहा पाउन सकिएन।

तर रेलका कुरा पत्रपत्रिका र सामाजिक सञ्जालहरूमा ओईरो लागिरहे। जनकपुर-जयनगर रेल; जुन पहिल्यै चलेर बन्द भएको थियो, त्यो रेल त्रिपाल ओढाएर राखेको १५ महिनापछि पुन सञ्चालनमा आउदा सामाजिक सञ्जालमा मानिसहरूका ट्विट र स्टाटस पक्ष विपक्षमा पप अप गर्न थाले। क्वोट ट्विट र कमेन्टहरूको रमाइलो छुट्टै भइहाल्यो।

धेरै समय बितेको छैन, चर्चामा आइरहने काठमाडौँका हालका मेयर बालेन्द्र साहले पनि काठमाडौँ महानगरमा रेलको कुरा गरेको सुनियो। बालेन्द्रले रेलको कुरा के फुत्काएका थिए, ललितपुरका मेयर चिरिबाबु महर्जनले पनि ‘लौ बालेन्द्रजी अगाडि बढ्नुस्, अप्ठेरोमा म हात तानम्ला’ भनिगए।

केही समय अगाडि काठमाडौँ-केरुङको यात्रा गर्ने अवसर जुरेको थियो। भएको रोडको बिजोग स्थिति थियो। त्यही पनि चियापसलमा मानिसहरू रेल आउने बाटो ‘यही हो’ भन्दै गफ लडाउँदै गरेका पनि सुनिए।

खैर, काठमाडौँमा रेल चल्ला/नचल्ला, पूर्व-पश्चिम रेल कहिले चल्छ, काठमाडौँ-पोखरा-लुम्बिनी रेलमार्गले कहिले जोड्छ, त्यो पछि समयक्रममा देखिँदै जाला। तर रेलभन्दा पहिले नेपालमा रेलका गीतहरू घन्किए। बीचमा काठमाडौँमा केही समय रेल पनि चल्यो। काठमाडौँका विभिन्न भागमा रेलका लिग देख्नेहरू अझै पनि छँदैछन्। रेल लिकमा गुड्यो। केही समयपछि बन्द पनि भयो। प्राविधिक कारण रहे होलान्। तर रेलका गीतहरू भने प्रविधिका फड्कोहरूसँगै झनै चर्चित बन्दै गए।

000

हालका प्रधानमन्त्री पुष्पमकल दाहाल ‘प्रचण्ड’ अहिले आफ्नो पद जोगाउने ध्याउन्नमै लागिरहेका छन्। तर रेलका गीतहरूको कुरा गर्दा उनले गीत/संगीतबारे थोरै आफ्नो अभिव्यक्ति राख्दै एउटा गीत गाएको सुनियो। संयोगवस्, एकैलाइन मात्रको गीत गाएका उनको गीतमा रेलको कुरा पनि जोडिएको थियो। उक्त कार्यक्रममा प्रचण्डले गाएको गीतको एक अंश यस्तो थियो:

मनै रुने रैछ, सुई सुई रेलले सुइक्याउँदा, बर्मातिर हुइक्याउँदा
यो गीत गाएको केही बेरमै उनी भन्छन्- सानोमा मैले आफूलाई गीतसंगीत अथवा भनौँ अब नाच्नेमै लाने पनि हो कि पनि भन्ठान्थेँ। तर ईच्छा भएर पनि परिस्थितिले साथ दिएन। नत्र म पनि कलाकारै हुन्थेँ कि जस्तो लाग्थ्यो। मकालुखबरको युट्युब च्यानलमा भेटिएको यो गीत उनको आफ्नो रचना थियो वा अरु कसैको गीत उनले गाएका थिए, खोज्ने निकै प्रयास गर्दा पनि भेटिएन।

000

सवारी मेरो रेलैमा:
झन् पर जान्छु लैलै, झन् वर लाग्छ बरिलै
मोहनी लायौ कि
सवारी मेरो रेलैमा…

खैर रेलको गीतको प्रसंगबारे कुरा गर्दा, गायिका मेलावादेवीको सवारी मेरो रेलैमा प्रथम नेपाली गीत थियो, जसमा रेलबारे प्रसंग उल्लेख गरिएको थियो। उनको यो गीत युट्युबमा खोजिरहँदा यो गीतको बारेमा थप केही तथ्यहरू फेला परे। त्यसैगरी यही गीत र मेलवादेवीबारे अन्य तथ्यहरूको खोज गर्दा युट्युबमा उल्लेख गरिएको विवरण भन्दा केही भिन्न विवरण पत्रपत्रिकामा पनि प्रकाशित भएको पाइयो।

७ चैत्र २०२२ मा मणिराज गुरुङले नागरिक दैनिकमा मेलावादेवीबारे केही प्रसंगहरू उल्लेख गरेका छन्: चन्द्र शमशेरको दरबारमा गीत गाउन थालेकी मेलावादेवीलाई चन्द्रशमशेरकी कान्छी महारानी बालकुमारीदेवीले बनारसी पानको बिडामा सिन्दुर मिसाएर एक सुसारे केटीमार्फत् खान दिइछन्। त्यसपछि उनको स्वर धोद्रो भएछ। मेलवादेवीलाई चन्द्रशमशेरले अत्यधिक चाहन थालेको थाहा पाएपछि महारानी बालकुमारीदेवीले यसो गरेकी रहिछन्। त्यसको केही समयपछि मेलावादेवी दरबारबाट बाहिरिन्।

चन्द्र शमशेरले उनको लागि ऐशआरामका सबै सामग्री तयार पारिदिएका थिए, तर उनलाई भने आफ्नै स्वरको चिन्ता थियो। त्यसपछि उस्ताद भक्तकृष्ण मानन्धरसँग वैवाहिक सम्बन्ध गाँसेकी मेलवादेवी, घरपरिवारमा राम्रो सम्बन्ध नभएपछि चन्द्रशमशेरले किनिदिएको घरमा बस्न थालिन् तर त्यसरी पनि टिक्न मुस्किल भएपछि शुक्रराज शास्त्रीको सल्लाहमा महिना दिनकी सुत्केरी मेलवादेवी दुई नाबालक छोरी च्यापेर रेलमार्ग हुँदै कलकत्तातिर लागिन्। त्यही यात्राको अनुभव संगालेर उनले रचना गरेको र आफ्नै संगीतमा स्वर भरेर रेकर्ड गराएको गीत सवारी मेरो रेलैमा नै नारी स्वरमा रेकर्डेड पहिलो नेपाली गीत भयो।

इलाहवाद संगीत सम्मेलनमा ‘ठुमरीकी रानी‘ उपाधि पाएकी मेलवादेवीले उक्त गीत सवारी मेरो रेलैमा वि.सं. १९८५ सालमा भारतको कलकत्तास्थित हिज मास्टर भ्वाइस (एचएमभी) मा रेकर्ड गराएकी थिइन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको रेल विभागको वेबसाइटमा उल्लेख भएअनुसार नेपालमा सन् १९२७ (वि. सं. १९८३) मा अमलेखगञ्ज(नेपाल) बाट रक्सौल (भारत) सम्म करिब ४८ कि.मि. पहिलो रेल सेवा सञ्चालन भएको तर सन् १९६० (वि. सं. २०१६) मा सो रेलसेवा बन्द भएको र यसै गरी सन् १९३७ (वि. सं. १९९३) मा भारतको जयनगर देखि नेपालको जनकपुर सम्म ५१ कि.मि. दोस्रो रेल सेवा सुरु भएको भनेर उल्लेख गरिएको छ। जयनगर-जनकपुर रेलसेवा त्यही रेलसेवा हो जुन अहिले पुनः सञ्चालनमा आएको भनेर चर्चा समेत चुलिएको थियो।

000

आमा रुँदै गाउबेसी मेलैमा, छोरो रुँदै गोरखपुर रेलैमा
३२ वर्षकै उमेरमा मोटरसाइकल दुर्घटनामा परी स्वर्गीय भएका लोकबहादुर क्षेत्रीले गाएको यो मार्मिक गीत रेडियो नेपालमा धेरै पटक गुन्जन्थ्यो। अझ विशेष चाडबाडको समयमा यही गीतले पक्कै धेरैको आँसु झारेको थियो।

युट्युबमा राखिएको यो गीतमा संकलक लक्ष्मी क्षेत्री भनेर देखिन्छ। तर युट्युबको कमेन्ट सेक्सनमा यस गीतबारे थप केही भेटिन्छ कि भनेर खोजी गर्दा समर आचार्य नामबाट यो गीतका असली रचनाकार प्रचण्डबहादुर बुढाथोकीले लेखेको भनेर कमेन्ट गरेको पाइन्छ। समर आचार्य थप लेख्छन्: यो गीत प्रचण्डबहादुर बुढाथोकीले लेखेका हुन् तर यस गीतमा उनलाई क्रेडिट दिएको भने पाइँदैन। लक्ष्मी क्षेत्री गायक लोकबहादुर क्षेत्रीकी श्रीमती थिइन् र क्रेडिट पनि उनैलाई दिइएको पाइन्छ।

खासमा नेपाली भाकामा रेकर्ड गरिएका रेलसम्बन्धी अधिकांश गीतहरूले वैदेशिक रोजगारीमा जाने परम्परालाई व्याख्या गरेका छन्।

‘गोरक्षपूरम्’ शब्दबाट आएको गोरखपुर भारतको उत्तर प्रदेशस्थित जिल्ला हो। नेपालबाट धेरै मानिसहरू आज पनि भारतमा वैदेशिक रोजगारीमा जाने गर्दछन्। लीलबहादुर क्षेत्रीले गाएको यो गीतले भारतको गोरखपुरमा धन कमाउन गएको छोरोलाई घरमा भएका बिरामी बुढा बाआमा सम्झेर फर्केर आउन अनुरोध गरेको पाइन्छ।

000

७ माघ २०७४ मा हिमालखबरमा प्रकाशित ढेंग स्टेशन र रेल सपना शीर्षकमा कनकमणि दिक्षीत लेख्छन्: तीन चार दशकअघिसम्म पनि नेपालकै एक भागबाट पूर्व पश्चिम अर्को भाग जान दक्षिण सीमा छिचोल्नुपर्दथ्यो। त्यहाँ छोटी लाइन (मिटर गेज) रेल समातेर यता वा उता गई फेरी नेपाल छिर्नुपर्ने अवस्था थियो। भारतमार्फत् यस्तो अन्तर नेपाल यात्रा सम्भव पारिदिएको थियो। उपनिवेशकालको एक रेल कम्पनी जसले पूर्व सिलगुडीबाट जलपाईगुडी हुँदै नेपाली सिमाना च्याप्दै रक्सौल, बेतिया, सुगौली, गोन्डा, गोरखपुर, नेपालगञ्ज रोड छिचोल्दै आगरासम्म पुग्थ्यो। आजसम्म पनि यो रेललाइन कायमै छ, जबकि गएको दशकमै भारतका छोटी लाइनहरू स्यान्डर्ड बज्र गेजमा स्तरोन्नति भइसकेको छ। छोटी लाइनको अवसानलाई नेपालको इतिहासकै एउटा कालखण्डको पनि अवसान मान्नुपर्दछ।

अहिले देश चरम बेरोजगारीबाट गुज्रिरहेको छ। यदि देशमै रेल सेवा सञ्चालन हुने हो भने केही प्रतिशत रोजगारी रेलसेवाले पनि दिन सक्ने थियो। नेपाल रेल्वे ऐन २०७९, रेल विभागको वेबसाइटलगायतका स्थानमा भेट्न सकिन्छ। जहाँ रेल ड्राईभर, रेल सहचालक, रेल टिकट खरिद लगायतका बारेमा पनि नियमावली हरू देख्न सकिन्छ। तर आज पनि रेलका गीतहरू भेटिन्छन्। केही फिल्महरूमा रेलका सिनहरू खिचिएको देखिन्छ। ती या त जनकपुर-जयनगरका सिन हुन्छन् या त विदेशी भूमिमा खिचिएका सिनहरू। नेपालले गर्व गर्ने गरी नेपालभित्रै रेल सेवा भने भेटिँदैन।

पैया गुडन लाग्या, बम्बै जाने रेलगाडी अब छुटन लाग्या
आँसीकी लवाई छ, सेरी पाक्या पेलमपुर, आँसीकी लवाई छ
कैलकी अवाई छ, साँचीराख्यै मायाजाल, कैलकी अवाई छ
तेई दु:ख सईरनु, जो दु:ख ईश्वरले दियो, तेई दु:ख सईरनु
न फूल पैरनु, न मैले कोपिला टिप्नु, न फूल पैरनु

यो गीतबारे खोजी गर्दा यस गीतको रेकर्डिङको रमाइलो कथा भेटियो। भदौ १०, २०७७ मा देशसञ्चारमा प्रभात खनालसँग कुरा गर्दै यस गीतका गायक तथा रचनाकार भोजराज भट्ट भन्छन्: पिथौरागढबाट रेल चढेँ। त्यतिबेला काठमाडौँ आउन भारत हुँदै आउनुपर्दथ्यो। कतै नबिसाई आएँ।

सुदुरपश्चिमबाट भारतको मुम्बईमा बहादुर बनेर चौकीदारी गर्न जानेहरूका पीडा देखेका भट्टले यो गीत २०४५ तिर रचना गरेका रहेछन्। त्यस समय गीत रेकर्ड गर्ने स्टुडियो थिएनन् र गाउनका लागि एउटै ठाँउ थियो रेडियो नेपाल। गाउन आवेदन दिएको तीन महिनापछि पालो पाएका भोजराज भट्टले यो गीत गाएबापत २५० रुपैयाँ पाएका रहेछन्।

भारतमा चौकीदारी गर्न जाने नेपालीहरूका कथा गीतमार्फत सुनाउन, काठमाडौँ आउन पनि भारतको बाटोमा भारतको रेल चढेर आएका रहेछन् भोजराज भट्ट।

३० कात्तिक २०७६ मा वैदेशिक रोजगारी र त्योसँग सम्बन्धित नेपाली गीतहरूको बारेमा अन्नपूर्ण पोस्टमा कोमल भट्ट भुई छोडेका पयाहरूमा लेख्छन्: पैदल, गाडी अनि रेलका पैयामा गुडेर भारतका विभिन्न सहरमा रोजगारीका लागि पुग्ने कुरालाई भोजराज भट्टले नै संकलन गरी गाएको गीत सुदुरपश्चिमतिर खुबै घन्कनेमध्येको एक थियो। किनभने यो गीतको पहिलो बोलले नै भारतमा जाने रोजगारीको अवस्थाको कथा बोल्थ्यो। घरमा बाआमा र श्रीमतीसँग ठाकठुक पर्‍यो या कोही गाँउमा देखिन छोड्यो भने सहजै अनुमान लगाइन्थ्यो कि ऊ कुनै भारतीय सहरमा रोजगारीका लागि गइसक्यो। ती गएको र त्यहाँ पुगेको खबर केही समयपछि डाँकले लिएर आउँथ्यो।

अरु कालो रेलको धुवाँले, म त कालो छातालाई ओढ्दै नओढ्नाले
स्व. लालबहादुर खातीको स्वरमा प्रस्तुत यस गीतमा पनि रेलको कुरा प्रयोग भएको पाइन्छ। ३०-४० को दशकमा एकदमै चर्चित गीत अरु कालो रेलको धुवाँलेमा गायक पक्कै पनि स्टिम रेलबाट आउने कालो धुवाँको कुरा गरिरहेका छन्।

२६ वैशाख २०७५ मा बद्रीप्रसाद खतिवडा हिमालखबरमा प्रकाशित आफ्नो लेख राजधानीमा दुईतर्फबाट रेल शीर्षकमा भारत र चीन दुई मुलुकबाट नेपाल ल्याउन सकिन रेलको सम्भावना बारे कुरा गर्छन्।

लेखको सुरुवातमै उनी लेख्छन् : करिब १५ वर्षअघि वरिष्ठ ईन्जिनियरद्वय वीरेन्द्रकेशरी पोखरेल, शंकरनाथ रिमाल र मसहितको टोलीले काठमाडौँ–वीरगञ्ज रेल्वे निर्माणका लागि पहल गरेका थियौं।

ललितपुरको नख्खु–बुङमतिबाट बाग्मतीको किनारैकिनार अघि बढ्दै मकवानपुरको ठिंगनबाट महाभारत छेडेर छतिवनमा पूर्वपश्चित राजमार्गलाई नाघेर वीरगञ्ज पुग्ने इलेक्ट्रिक रेलका लागि त्यसबेला गरिएको प्रारम्भिक अध्ययन प्रतिवेदनको प्रस्ताव अहिले पनि सिंहदरवारको कुनै तखतामा भेटिन सक्छ।

000

उसो त सिंहदरबारको तखतामा रेलको डिजाइन, रेलमार्ग, रेल सम्भावना अध्ययनसम्बन्धी विभिन्न कागजात पनि फेला पर्लान्। तर जुद्ध शमशेरको पालामा सुरु भएको रेलको केही अवशेषहरू भने संरक्षणको पर्खाईमा रहेको देखिन्छ। २ श्रावण २०७९ मा के आर पाण्डुलिपी: नेपालमा रेलवे : संरक्षणको पर्खाईमा पुरानो रेलको ईन्जिन शीर्षकमा हिमालदर्पणमा लेख्छन्: जनकपुरधाम रेल्वे प्लाटफर्मको अगाडि एक जीर्ण ग्यारेजभित्र एक इन्जिन थन्किएको छ भने अर्को इन्जिन ग्यारेजको बाहिर रहेको छ।

खिया लागेर रंग उडिसकेको उक्त रेल इन्जिन हाल सार्वजनिक शौचालय भएको छ। ग्यारेजको टायल फुटेको, भत्किएको छ। ग्यारेजभित्र अनेक बिरुवा उम्रिउर एक जंगल जस्तो बनेको छ। रेलको लिक पुरिएर शेष भेटिदैन। खिया लागेको पुरानो रेलको ईन्जि रुग्ण रेल सेवाको इतिहास बोकेर रहिरहेको छ।

खिया लागेको रेल।

चियापसलबाट ‘कफीसप’तिर सरेको आजकालको राजनीतिक गफगाफमा कहिलेकाँही इतिहास गलत लेखियो भन्ने जस्ता चर्चाहरू पनि सुनिन्छन्। इतिहासलाई पुनर्व्याख्या गर्नुपर्छ भनेर भनिएका संवादहरू पनि सुनिन्छन्। तर रेलको कुरामा भने रेलका इतिहास कसरी हुन्छ नामेट बनाउने ध्याउन्नतिर मात्र लागेको जस्तो देख्न सकिन्छ।

000

नेपालमा रेलको इतिहासबारे ५३ वर्षअगाडि नेपाल आएका विदेशी नागरिक डेनियल एडवार्ड विलियम्स निरन्तर नेपालमा रेलको इतिहासबारे अध्ययन गरिरहेका छन् भनेर २२ जेष्ठ २०७८ मा चन्द्रागिरिन्यूजले समाचार छापेको छ। यसै सन्दर्भमा सीताराम बरालको १८ साउन २०७८ मा सूत्रन्युजमा प्रकाशितराणाकालमै चल्थ्यो काठमाडौँमा रेल शीर्षकको समाचारमा लेख्छन्: राणाकालमै काठमाडौँको दक्षिण-पश्चिम भेगमा पर्ने मातातीर्थ हुँदै टेकुसम्म करिब ९ किमी रेलमार्गको निर्माण गरेर रेल समेत सञ्चालन गरिएको थियो। त्यो रेलमार्गका कतिपय खण्ड मैले पनि देखेँ। कुलेश्वर क्षेत्रमा बसोबास गर्ने पुरातत्व विभागका पूर्व महानिर्देशक भेषनारायण दाहाल भन्छन्: रेलमार्गमा रहेका फलामका लिकहरू अहिले पनि स्थानीयवासीका घरमा भेटिन्छन्।

विसं २०६० मा प्रकाशित रेमिनिसेन्सेस अफ नेपाल (नेपालका सम्झनाहरू) नामक पुस्तकका लेखक ज्ञानेन्द्रप्रसाद अधिकारी ‘ह्यान्सन’ले पनि आफ्नो सो पुस्तकमा मातातीर्थ टेकु रेलमार्गबारे उल्लेख गरेका छन्।

पहाडको छुकछुके रेल
पहाडको छुकछुके रेल, छुट्यो हजुर रोक्दैनरोकी
मैले रुमाल हल्लाको, गयो माया देख्दै नदेखी…

आनन्द अधिकारीको शब्दमा रामकृष्ण ढकालले स्वर भरेको यो गीत जस्तै नै त भयो होला। उबेलामा रोजगारीको लागि विदेशिन लागेको प्रेमीले पक्कै प्रेमिकाले हल्लाएको रुमाल देखेन होला, ठ्याक्कै जसरी यो देशका शासकहरूले रेलसँग जोडिएर आउने रोजगारी र जनताका सहज जीवनबारेको सपना देख्नै सकेनन्। मञ्चहरूमा गड्गडाहट तालीको आशमा नेताहरूले रेल चिच्चाइरहे। जनता ताली ठोकिरहे।

तर तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर र राजा त्रिभुवन आफैँ चढेर उद्घाटन गरेको रेल भने इतिहास भएर बसेको छ। आजका कतिपय मानिसहरूलाई त भीमफेदीमा अमलेखगञ्जबाट चल्ने रेलको टिकट काटिन्थ्यो भन्ने कुरा समेत थाहा छैन। ईकागजमा प्रकाशित बसन्त लोहनीको संस्मरण र अनूभूति डाँक गाडीबाट भीमफेदी शीर्षकमा भदौ ४, २०७९ मा उनी आफ्नो रेलयात्राबारे उल्लेख गर्दै लेख्छन्: तीर्थयात्रा गरेर आएकाहरूले रेलको टिकट गाँउमा नै लैजान्थे। त्यो टिकटको जन्तर बनाएर बच्चा पाउन लागेको आईमाईलाई लगाइदियो भने चाँडै बच्चा जन्मिन्छ भन्ने धारणा बनेको थियो।

नेपाल गभर्मेन्ट रेल्वेको पहिलो रेल। तस्बिर : ब्रिटिस अभिलेखालय

असोज २, २०७७ मा शिलापत्रमा सन्तोष खडेरीले नेपालमा आएको त्यो पहिलो रेल शीर्षकमा, जयनगरदेखि जनकपुरसम्मको रेल प्रसंगमा लेख्छन्: त्यतिबेला वर्षको दुई पटक भारतीय तीर्थयात्रीहरू नेपाल आउने गर्थे। एकपटक शिवरात्री र अर्को पटक विवाह पञ्चमीको समयमा। उक्त रेलमार्गले भारतीय तीर्थयात्रीहरूलाई नेपालमा तीर्थ गर्न जान मद्दत पुग्ने आशा व्यक्त गरेका थिए आम भारतीय हिन्दू नागरिकले।

अमेरिकाबाट प्रकाशित हुने दी विनिपेङ ट्रिब्युनको २७ मार्च १९२७ को आफ्नो अंकमा नेपालमा पहिलो रेल शीर्षकमा खबर छापिएको छ, ‘हिमाली अधिराज्य नेपालले आफ्नो पहिलो रेल देख्यो र त्यहाँका महाराजाधिराज त्रिभुवन वीर विक्रमले समेत आफ्नो जीवनमा पहिलो पटक रेलमा यात्रा गरे। त्यहाँका २१ वर्षे लक्का जवान महाराजाधिराज आफ्नो जीवनको पहिलो एकदमै नौलो रेल यात्राका क्रममा कत्ति पनि आत्तिएका थिएनन् र साहसपूर्ण तरिकाले यात्रा गरे।’

000

नेपालको सिमाना छेउ चलेका रेलका प्रसंग होस् वा काठमाडौँको बीचमा चलेका रेलका प्रसंग रेलकै कुरा गर्दा छुटाउन नहुने चै वीरगञ्जको बजारबीचबाट सुस्त गतिमा चल्ने रेलको कथा पनि हो। २०७६ भदौ १६ मा नयाँ पत्रिकामा तिवारी यादव, वीरगञ्जका स्थानीयवासी पशुपतिविक्रम शाहसँग रेलको कथा सुन्छन्। शाह भन्छन्: मेरो बाल्यकालमा वीरगञ्जको बीच बजारबाटै रेल गुड्थ्यो। हाल कारागार रहेको स्थान नजिकबाट रेल आउँथ्यो। हालको इनर–बाइपास सडकमा रेलको लिक थियो। हामी केटाकेटी घरबाट निस्किन पाउँदैनथ्यौँ। त्यसैले, रेल गुडेको हेर्न कमै पाइन्थ्यो।

राणा शासनकालमा त्यसलाई ‘नेपाल रेल’ नाम दिइएको थियो। राणा शासन ढलेपछि ‘नेपाल सरकार रेल्वे’ नामकरण गरियो। त्यो रेलको गति अति सुस्त थियो, रक्सौलबाट छुटेको डेढ घण्टामा मात्र वीरगञ्ज आइपुग्थ्यो।

वीरगञ्जको सुस्त रेल त सुस्त हुँदाहुदै सुस्ताइगयो। तर सायद नेपालभित्रै चल्ने रेल, महानगरमा चल्ने रेल, काठमाडौँ-केरुङ होस् वा पूर्व-पश्चिम रेल होस् यो कति सुस्त हुन्छ भन्ने कुरा भने हेर्न बाँकी छ। यद्यपि भाषणहरू सुन्दा चाहिँ यसको गति सुस्त छैन भन्ने लाग्छ। तर यथार्थमा बुझ्ने हो भने ‘आकाशको फल आँखा तरी मर’ भनेजस्तो चरितार्थ हुन्छ।

भारत र चीनसँग मात्र नभएर बंगलादेशसँग पनि नेपालको रेलको सम्झौता गरेकोबारे अनलाइनखबरले १० चैत २०७७ मा छापेको पाइन्छ। मनगढन्ते नै सही, सम्झौताको फेहरिस्त मात्रै लम्बिँदै जाने हो भने, एलन मस्कले स्पेसमा सञ्चालन गर्नेबारे सोचेको रेलसेवामा समेत नेपालले सम्झौता गर्न बेर छैन। बस्! एलन मस्कले पत्याइदिन चाहिँ पर्‍यो।

उडायो रेलैले
तालको माछा कोही गन्न सक्दैन
जातै सानो मायामा हुँदैन, उडायो रेलैले…

नेपालको चर्चित ब्यान्ड नेपथ्यले यो गीतमा ‘उडायो रेलैले’ शब्दले चै ठ्याक्कै के इङ्गित गर्न खोजेको प्रष्ट बुझिँदैन। तर अलिकति गहिरिएर हेर्ने हो भने यसमा गायक जातको कुरालाई बहिष्कार गर्न खोजेको देखिन्छ। त्यसो हुँदाहुदै पनि कतै मायालाई रेलले नै उडाएको पो हो कि भन्ने भान हुन्छ। खैर, त्यसो होला नहोला, रेल शब्द प्रयोग भएको यो अर्को चर्चित गीत हो, जो आज पनि युवाहरू गितार समाउँदै गुन्गुनाइरहेका हुन्छन्।

यी तिनै युवाहरू हुन् जो स्कुल/कलेजको समयसम्म उडायो रेलैले गीतका कर्डहरू गितारमा खोजिरहेका भेटिन्छन्। अनि देशमा रोजगारीको वा शिक्षाको राम्रो ग्यारेन्टी नभेटिएपछि विदेसिनका लागि पासपोर्ट हातमा लिएर भौँतारिरहेका हुन्छन्। पासपोर्ट हातमा लिएका बेला होस् वा भिसा आएर विदेसिएपछि नै किन नहोस्, सायद यी युवाहरू कामको लागि विदेशका रेलका डिब्बाहरूमा अनिदोले उङ्दै, अनि विदेशमा पनि नेपाली साथीभाइ भेट हुँदा गितार समाउँदै आफ्नो प्रेमिका सम्झँदै उडायो रेलैले गाउँदा हुन्।

000

गीतमा त प्रेमिकालाई सम्झँदै अबको धेरै पछिसम्म पनि युवाहरू उडायो रेलैले गाउँदाहुन् तर नेपालको तराईको भूभागको धेरै काठ चै भारत र ब्रिटिस साम्राज्यले रेल मार्फत नै उडाएको कुरा पनि रेलको इतिहास बारे खोज्दै जाँदा थाहा लाग्छ। सन्तोष खडेरी, चैत ५, २०७८ मा हिमाल प्रेसमा इतिहासमै सीमित बनेको पहिलो रेलको कथा शीर्षकमा विभिन्न श्रोतहरूको उल्लेख गर्दै लेख्छन्: ब्रिटिस अभिलेखालयको दस्तावेजअनुसार चन्द्रशमशेरले सन् १९२५ मा रक्सौल अमलेखगञ्ज रेलवे निर्माण थाल्नुभन्दा एक दशकपहिले चितवनको ठोरी क्षेत्रमा केही युरोपेली इन्जिनियरलाई रेलवे सर्भेका लागि निम्त्याएका थिए। उक्त सर्भेको उद्देश्य यात्रुवाहक रेलवे निर्माणका लागि थिएन, ठोरीको घना जंगलको काठ भारततर्फ निकासी गर्नका लागि सीमावर्ती भारतीय रेलवे लाइनसँग जोड्नु थियो।

भारतसँग खरिद गरी नेपाल ल्याइएको रेल। नेपाल ल्याएर लामो समय त्रिपाल ओढाएर राखिएको यो रेल जनकपुर-जयनगर खण्डमा चलाउन लागिएको छ।

रेलवे नबने पनि ठूलाठूला डोरीजस्ता तारजडित ट्रामवेद्वारा तराई क्षेत्रको काठ भारततर्फ निकासी गरिएको थियो। त्यस्तो लाइन ठोरीदेखि भिक्षाखोरी (अमलेखगञ्ज) सम्म थियो।

नेपालको जंगलबाट निकासी भएका ती काठ रेलका स्लिपरका रूपमा प्रथम विश्वयुद्धमा ब्रिटिस सरकारको सहायतार्थ युद्ध क्षेत्र मेसेपोटानियासम्म पुर्‍याइएको अनुमान छ। सन् १९१८ को मेमा नेपाल सरकारले तराईको जंगलबाट नर्थ-वेस्टर्न रेलवेका लागि दुई लाख थान रेलवेका स्लिपर उपलब्ध गराएको थियो।

तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले नेपालको वनको काठ निकासी गर्ने ठेक्का ब्रिटिस भारत सरकारको वनसेवाका अधिकारीसमेत रहेका जेभी कोलियरलाई दिएका थिए। कोलियरले सन् १९२३ मा नेपालको काठ भारततर्फ ओसार्न नेपालको जंगलसम्मै न्यारोगेजको रेल निर्माण गरेका थिए।

रेलको बाटो पुग्दैछ रे तिमी बस्ने सहरैमा
सिटामोलको अभावमा मर्नुपर्ने कोही
चोट लागे भोक लागेपनि बस्नुपर्ने रोई … हजुर
तुईन चढी स्कूल जान्छन् नानीबाबु गाँउमा
कालो बाटो चिल्ला गाडी होलान् तिम्रा ठाँउमा … हजुर
रेलैको बाटो पुग्दैछ रे तिमी बस्ने शहरैमा
हुम्ला कहिले मोटर आउला, बस्याको छु रहरैमा…

रेलको चर्चा चल्दैगर्दा लेखराज गिरीको शब्दमा सुरज पण्डितले गाएको यो गीतले भने सिंगो नेपालको खास यथार्थ वर्णन गर्छ। तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले रेलको प्रसंग जसरी सुरु गरे र जसरी चर्चा चुलियो भन्न त उनले आफ्नो कार्यकालकै २ वर्षभित्रमा तुईन पनि विस्थापन गर्छु भनेका थिए। तर सत्य आजकाल पनि सामाजिक सञ्जालहरूमा खड्गप्रसादको खिसिट्युरी गर्दै तुइनको फोटो/भिडियो आउँछन्।

माथिकै गीतका शब्दलाई अझ विस्तृतमा भन्ने हो भने सिटामोलको अभावमा मानिसहरूको मृत्यु भएकै छ। चरम गरिबी छ। बेरोजगारी बढ्दो छ। बिचौलिया र मालिकहरूले देशको अर्थतन्त्र खोक्रो बनाइसकेका छन्। वैदेशिक रोजगारीले देशको दुरदराजलाई यति नराम्ररी उजाड बनाएको छ कि, आजकाल गाँउघरमा बुढापाका र बच्चाबच्चीभन्दाबाहेक अरु देखिन्नन्।

यही गीतको दोश्रो भागमा सुरज पण्डित गाँउछन्:

भत्किएको छाप्रोमाथि छाना कहिले होला
बिहान साँझ टन्न पेटमा खाना कहिले होला… ए हजुर!

देशको खास अवस्था भनेको यही नै हो। महंगी दिन दुईगुणा रात चौगुणा बढ्दो छ। जनताका आधारभूत समस्याहरूज्यूँ का त्यूँ नै छन्। तर देशलाई एउटा गति दिने राजनीति भने कहिले गठबन्धन भत्काउने र बनाउने खेलमा सामेल भईरहन्छ। जनताले नभुलेको नाकाबन्दी यो देशका शाषकहरूले बिर्सिसकेका छन्। चुनावको समयमा फेरी एकपटक रेलको चर्चा गरेर देशका जनताको दुर्दशामाथि मजाक गरेका हाम्रा नेताहरूले अब फेरी कहिले रेलको चर्चा गर्छन, त्यो भने सुन्नै बाँकी छ।

000

उसो त नेपालमा पहिलोपटक रेल सञ्चालनमा आएपछि चन्द्रशमशेरले रेलका फाइदाबारे यसरी टिप्पणी गरेका रहेछन् : रेल, मोटरबाटो र रोपवेले हाम्रो पहाडी राजधानी काठमाडौँसमेत सुगम भारतसँग जोडिन गएको छ। अब उप्रान्त अनाजको र घरगृहस्थीलाई नभई नहुने भएका जरुरी मालसामानहरूको समेत महँगी हराउँदै जानाले सबैलाई सुखसन्तोषको समय आउला भन्ने ठूलो उमेद गरेका छौँ। असल कुरामा एक पाइला भए पनि अघि बढ्न सक्नु सन्तोषको कुरा हुनाले यो रेलवेको उठान पनि त्यस्तै एक पाइला मात्रको भए तापनि हालसाललाई पुगेको छ भन्ने हामीलाई लागेको छ। (गोरखापत्र, २१ फेब्रुअरी १९२७)

चन्द्रशमशेरको पालामा रेलको लिकमार्फत नै काठको चोरी निकासी सरकारकै तहबाट समेत भयो भने यता नेपालका यात्रुहरूको लागि त्यसको केही वर्षपछि रेल सेवा पनि सञ्चालनमा भने आयो। यो रेलसेवाबाट फाइदा लिनेहरू आज नेपालका नेताहरूले रेलको कुरा गर्दा जिब्रो लेप्र्याउदै नपत्याएझैँ पनि गर्दा हुन्।

000

मलाई भने रेलको प्रसंग धेरै चलिरहँदा, नेपालमा रेलका गीतहरू कस्ता कस्ता रहेछन् त भनेर हेर्न मन लागेको थियो। वैदेशिक रोजगारीको प्रसंगलाई सबैभन्दा बढी रेलका गीतहरूमा प्रयोग गरिएको पाए मैले। प्रेमका गीतहरूको कुरा त बेग्लै नै छ। खैर रेल त देशमा अझै आईपुगेको छैन नै, तर रेलका गीतहरू भने आजपनि लोकप्रिय छन्। अनि लेखिँदै/गाइँदै पनि छन्। आज पनि रेलका प्रसंगहरू जब कफी सपहरूमा कफीको चुस्कीसँगै सेलाउँछन् वा नेताहरूले रेलबारे भाषण गरेको पत्रपत्रिकामा छापिन्छन् मलाई भने यही लेखमा मैले नेपथ्यको उडायो रेलैले गीतबारे लेख्दै गर्दा लेखेको केही शब्द याद आउछ। सायद म पनि कुनै दिन विदेशी भूमिमा कामबाट लखातरान परेर रेलमा फर्कँदै हुनेछु। र आफ्नो कोठामा फर्किएर आकाशमा रातको जून हेर्दै गाउँदै हुनेछु:

तिम्रो माया छ कसम खादिनँ
तिमीबिना म बाँच्न सक्दिनँ
माया साथैमा
उडायो रेलैले…।

प्रकाशित: २०७९ चैत २ गते बिहिबार ११:३३
प्रतिक्रिया

थप समाचार

‘सिङ्गो देश डिप्रेसनमा छ’

डिप्रेसनले राज गरेको मुलुकमा समाज सधैँ एउटा नायकको खोजीमा हुँदो रहेछ, तर कसैलाई लामो समय विश्वास गर्न नसकेर नायक बदलिरहँदो रहेछ। को

गीत ‘मास्टर्नी’ को पोस्टरको समाजशास्त्रीय विश्लेषणः समाज निर्माणको आधारमा प्रहार

शिक्षक समाजको एउटा महत्वपूर्ण खम्बा हो। शिक्षकले ज्ञान, सीप, मूल्य र मान्यताहरू नयाँ पुस्तामा हस्तान्तरण गर्दै समाजलाई सही दिशामा डोऱ्याउने कार्य गर्छ। त्यसैले, शिक्षकलाई मनोरञ्जनको पात्र...

नेपो डच डिजिज र रेमिटान्स मेन समाज !

ल्हासातिर ऊन बेचेर सुन भित्र्याइने नेपालले आफ्ना स्रोत त्यति नै बेलादेखि नै नचिनेर होला, पहाडतिरका बलिया र सग्ला पाखुराहरू लाहुरे बन्ने तोडमोडमा कसैले थर फेरे, कसैले घर फेरे; जसरी हुन्छ लाहुरे...

‘व्यक्तिगत ग्यारेन्टी हट्नु सम्पत्तिमा आधारित अर्थतन्त्रबाट उत्पादनमा लैजाने कदम’

नेपालमा बैंक तथा वित्तीय संस्थाले व्यवसायिक कर्जा प्रवाह गर्दा व्यवसायीको व्यक्तिगत जमानी (पर्सनल ग्यारेन्टी) अनिवार्य रूपमा लिने प्रचलन लामो समयदेखि रहेको छ। अहिले यो व्यवस्था हटाउने विषयमा...

‘जलविद्युतमा लगानी पुनसंरचना गरेर सेयर प्राइस डिस्कभरी मेकानिज्ममा जानुपर्छ’

सुरुवाती दिनदेखि जोखिम मोल्ने प्रवर्द्धकको सेयर मूल्य र सबै जोखिम न्यूनीकरण भइसकेपछि आउने लगानीकर्ताको सेयर मूल्य बराबरी हुनु वैज्ञानिक देखिँदैन। त्यसैले, प्रवर्द्धकको मेहनत, विज्ञता र...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना