पर्थ- परराष्ट्रमन्त्री एनपी साउदले हिन्द महासागर नेपालको लाइफलाइन भएको बताएका छन्। अस्ट्रेलियाको पर्थमा अस्ट्रेलिया र भारतले संयुक्त रूपमा आयोजना गरेको सातौँ हिन्द महासागर सम्मेलनमा शनिबार सम्बोधन गर्दै मन्त्री साउदले समुद्र सबैको साझा हुनेसमेत बताएका हुन्।
‘अन्तर्राष्ट्रिय बजारसम्म जोडिनका लागि हिन्द महासागर नेपालका लागि लाइफलाइन हो। नेपालको वैदेशिक व्यापारको अधिकांश हिस्सा हिन्द महासागरकै मार्ग भएर हुने गरेको छ,’ सम्मेलनलाई पर्थमा सम्बोधन गर्दै मन्त्री साउदले भने, ‘तसर्थ हिन्द महासागर क्षेत्रमा स्थायित्व र दिगोपना नेपालका लागि महत्वपूर्ण छ।’
नेपालको विकासको लयमा हिन्द महासागरको स्थायित्वले पनि प्रभाव पार्ने बताएका मन्त्री साउदले हिन्द महासागरको स्वास्थ्य पनि हिन्द कुश तथा हिमालय क्षेत्रको जलवायु र पारिस्थितिक प्रणालीमा निर्भर रहने उल्लेख गरे। समुद्रमा आधारित आर्थिक प्रणाली (ब्लु इकोनोमी) हिमाली क्षेत्रसँग सम्बन्धित मात्र नभएर हिमाली क्षेत्रको अर्थव्यवस्था पनि समुद्री अवस्थाले प्रभाव पार्ने उनको भनाइ छ।
हिन्द महासागर क्षेत्र विश्वकै व्यापारिक मार्ग भइसकेको र यो मार्ग संसारभरको व्यापारको केन्द्रबिन्दु बन्ने लयमा रहेको मन्त्री साउदको भनाइ थियो। तर अन्य महासागरको तुलनामा हिन्द महासागर क्षेत्रको तापक्रम बढ्ने दर बढी रहेको भन्दै उनले चिन्ता पनि व्यक्त गरेका थिए। दुवै क्षेत्रका लागि फाइदा पुग्ने गरी नीतिनिर्माण गर्नुपर्ने उनको भनाइ थियो।
नेपाल भूपरिवेष्टि मुलुक भए पनि सम्मेलनमा सहभागी हुन निमन्त्रणा गरेको भन्दै उनले भारत र अस्ट्रेलिया दुवै देशलाई धन्यवाद पनि ज्ञापन गरेका थिए। नेपाल सन् २०२६ मा अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति भई विकासशील राष्ट्रको मान्यता पाउने भएको र सन् २०३० सम्ममा मध्यमस्तरीय आम्दानी भएको देश बन्ने भएकाले समुद्रबाट लाभ लिनेलगायतका विषयमा नेपालका लागि क्षेत्रीय र अन्तर्राष्ट्रिय सहयोग महत्वपूर्ण हुने उनको भनाइ छ।
समुद्र सबैको साझा हुने नेपालको मान्यता रहेको पनि उनको भनाइ थियो। यसको संरक्षण र यसका फाइदामा पनि सबै स्थानका मानवजातिले साझेदारी हुनुपर्ने उनको भनाइ छ। हिन्द महासागर क्षेत्रमा जुनसुकै समस्या निराकरण गर्नका लागि पनि नेपालले रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता उनको छ।
‘समुद्र सबैको साझा हो। यसको उपयोग संसारभरका मानव जातिको फाइदाका लागि हुनुपर्छ,’ सम्बोधनका क्रममा मन्त्री साउदले थपे, ‘महासागर र हिमालयको स्थायित्व हामी सबैको भविष्यका लागि महत्वपूर्ण छन्।’
सम्मेलनमा सहभागी हुन बुधबार अस्ट्रेलिया आएका हुन्। फागुन २ गते साउद वेलिङ्टन जाने कार्यक्रम छ। न्युजील्याण्डका विदेशमन्त्री विन्स्टन पिटर्सको निमन्त्रणमा उनी विलिङ्टन जान लागेका हुन्। मन्त्री साउद फागनु ३ गते स्वदेश फर्किनेछन्।


