काठमाडौँ- सूर्यदर्शन सहकारीबाट सर्वसाधारण बचतकर्ताको रकम ठगी गरेको आरोपमा हालसम्म पक्राउ परेका ५ जना पुर्पक्षका लागि थुनामा पठाइएका छन्।
पछिल्लो पक्राउ परेका सहकारीका सञ्चालक समितिका सदस्य प्रमोद भट्टराईलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि कारागार पठाउन आदेश गरेको हो।
न्यायाधीश रामचन्द्र शर्माको एकल इजलासले भट्टराईलाई कारागार पठाउन आदेश गरेको हो।

प्रमोद भट्टराई।
सुनसरी जिल्ला, इनरुवा नगरपालिका ५ घर भएका भट्टराई बिहीबार काठमाडौँको गोकर्णेश्वर नगरपालिकाबाट पक्राउ परेका थिए।
योसँगै सूर्यदर्शन सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पक्राउ पर्नेको संख्या ५ पुगेको हो।
यसअघि सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वसञ्चालक समितिका सदस्यद्वय शिवबहादुर गुरुङ ‘महेन्द्र भोटे’, भविश्वर अर्याल पुर्पक्षका लागि थुनामा पठाइएका छन्।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले जीबी राईसहित १९ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो। राईसहित १४ जना अझै फरार छन्।
सहकारीका बचतकर्ताले माघ २२ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा माओवादी केन्द्रका विद्यार्थी नेता दिपेश पुनसहित थप १८ जनाविरुद्ध छानबिन गर्न पूरक जाहेरी दिएका छन्। उक्त निवेदनका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
सूर्यदर्शनका पदाधिकारीमाथि बचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरेको आरोप छ।


