काठमाडौँ- आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्बको बजेट सिलिङ तोकिएको छ।
शुक्रबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री डा. प्रकाशशरण महतले यस्तो जानकारी दिएका हुन्।
राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले १८ खर्ब बराबरको सिलिङ तोकेको उनले जानकारी दिए।
सिलिङ तोक्ने क्रममा सरोकारवाला निकायबिच निरन्तर छलफल हुने गरेको भएपनि कुनै विवाद भने नभएको उनको जिकिर छ।
चालु आवको बजेटको अर्धवार्षिक समीक्षाले खर्चको अनुमान घटाएको बताएका मन्त्री महतले त्यसलाई बजेट घटेको भन्न नमिल्ने जिकिर गरे।
संसदबाट पारित भएको बजेट अर्थ मन्त्रालय एक्लैले संशोधन गर्न नसक्ने भउकाले खर्च र आम्दानीको लक्ष्य नपुग्ने अनुमान मात्र गरिएको उनको जिकिर छ।
सञ्चारमाध्यमले बजेट घटाएको व्याख्या गर्दै समाचार छापेपछि स्पष्ट पार्न पत्रकार सम्मेलन गर्नुपरेको मन्त्री महतको भनाइ थियो।



