काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘बैंकबाट बचत फिर्ता गर, यो बैंक खत्तम हुँदैछ’ भनेर फैलाइएका हल्लामा कुनै सत्यता नभएको बताएका छन्। वित्तीय क्षेत्रमा हौवा फैलाएर बाहिरी संकट ल्याउने दुष्प्रयास भइरहेको मन्त्री महतको टिप्पणी छ।
चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले त्यसरी गलत हल्ला फैलाउनेलाई कारबाही गर्न सरकारले कुनै कसर बाँकी नराख्ने पनि चेतावनी दिए।
‘म सरकारको तर्फबाट खबरदारी गर्न चाहन्छु, त्यस्तो प्रवृत्तिलाई हामी कुनै पनि हालतमा कारबाही गर्न ढिलो गर्दैनौंँ,’ मन्त्री महतको भनाइ छ।
‘समाजमा गलत सन्देश दिएर र भ्रम फैलाएर हाहाकारको अवस्था सिर्जना गरी राजनीतिक उद्देश्य प्राप्ति हुन्छ’ भन्ने कसैलाई लागेको भए त्यो सफल नहुने उनले स्पष्ट पारे।
‘त्यो प्रवृत्तिलाई राज्यले सहन सक्दैन, म खबरदारी गर्छु। बचतकर्ता, लगानीकर्ता र समग्र अर्थतन्त्रलाई नै विचलनतर्फ लैजाने प्रयास हो, यो सम्भव छैन,’ उनको प्रष्टीकरण छ।
लघु वित्तलाई स्वस्थ बनाउने विषयमा सबैको चासो रहेको उल्लेख गर्दै उनले लघुवित्तमा देखिएका विचलनबाट फाइदा उठाएर राजनीतिक उद्देश्य पूर्ति गर्ने प्रयास भइरहेको आरोप पनि लगाए।
‘लघु वित्त र सहकारीबाट ऋण लिएकाहरुलाई उपयोग गर्न खोजिएको छ। यो एकदमै खतरनाक प्रवृत्ति हो। यो खतरनाक प्रवृत्ति सरकारले हेरेर बस्दैन। लघुवित्तमा जोडिएको सबै बचतकर्ताहरु मिलेर यसको प्रतिवाद गर्नुपर्छ,’ मन्त्री डा. महतले भने, ‘सँगसँगै लघुवित्तलाई स्वस्थ, पारदर्शी र विपन्नकेन्द्रित गर्नपर्छ। लघुवित्तले मूल उद्देश्य छोडेर जानु हुँदैन।’
लघु वित्तलाई नाफा कमाउने औजारको रुपमा उपयोग नगर्न उनले लघुवित्तकर्मीलाई आह्वान गरे। फाइदा उठाइहालौं भन्नेहरुलाई निरुत्साहित गर्न आग्रह गरेका मन्त्री महतले थपे, ‘दुःखसुख गरेर सानोसानो लघुवित्तमा बचत गरेको हुन्छ, ती बचतकर्ताको निक्षेप सुरक्षा गर्नु हामी सबैको कर्तव्य हो।’
ऋण लिएपछि फिर्ता गर्नुपर्ने दायित्व सबैले पूरा गर्नुपर्ने उनको भनाइ छ। ‘लघुवित्तको सञ्चालक बनेर जसले उद्देश्यविपरीत काम गरेको छ, दुरुपयोग गरेको छ, अपारदर्शी ढंगबाट व्यक्तिगत फाइदा उठाउन खोजेका छन्। त्यसलाई तपाईंहरु सबै मिलेर निरुत्साहित गर्नुपर्छ,’ मन्त्री डा. महतले भन्नुभयो ।
०४६ सालको परिवर्तनपछि लघुवित्त फस्टाएको उल्लेख गरेका मन्त्री महतले गरिबी निवारणमा लघुवित्त र सहकारीको भूमिका महत्वपूर्ण भएको उल्लेख गरे। ‘उद्देश्यभन्दा टाढा गएकाले सहकारीमा समस्या आएको हो। तर राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा भएकाले लघुवित्तलाई पुरानै लयमा फर्काउन काम सुरु भएको छ,’ मन्त्रीको भनाइ छ, ‘लघुवित्तलाई विपन्न नागरिक र महिलाको सशक्तिकरण र उत्थान गर्ने माध्यमको रुपमा हामीले अगाडि बढाउनुपर्छ।’ लिएको ऋण तिनुपर्ने आवश्यकता छैन, सबै हामी मिलाइदिन्छौं, हामीलाई सहयोग गर भनेर आश्वासन दिइएको छ। ऋणीको भावनामा खेल्ने प्रयास भइरहेको छ । यसलाई चिर्न जरुरी छ।’
बचतकर्ताको लगानी खोसेर ऋण माफी हुन नसक्ने उनले प्रष्ट पारे। ‘राज्यले ऋण तिर्न समय थप गर्ने र ब्याज कम गर्नका लागि सहजिकरण गर्न सक्छ। राष्ट्र बैंकले पनि त्यस किसिमको नीति ल्याएको छ,’ मन्त्री महतले थपे, ‘तर, तिर्नैपर्दैन भन्ने जुन प्रवृत्ति छ, यो प्रवृत्तिको जुन मनाशय छ, त्यसलाई हामीले पर्दाफास गर्नुपर्छ।’


