काठमाडौँ- आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत आज भएको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नामिबियाले प्रस्तुत गरेको एक सय २४ रनको सामान्य लक्ष्य नेदरल्यान्ड्सले २७ दशमलव दुई ओरभमा तीन विकेट गुमाउँदै पूरा गर्यो।
यस जितसँगै नेदरल्यान्ड्सले दुई खेलमा दुई अङ्क जोडेको छ। पहिलो खेलमा नेदरल्यान्ड्स नेपालसँग नौ विकेटले पराजित भएको थियो।
समान दुई खेल नै खेलेको नामिबियाको पनि समान दुई अङ्क नै छ। पहिलो खेलमा नामिबियाले नेपाललाई चार विकेटले हराएको थियो।
नेदरल्यान्ड्सको जितमा माइकल लेभिटले सर्वाधिक ५७ रनको योगदान दिए। उनले ८१ बल खेल्दै आठ चौका र दुई छक्का प्रहार गरे। त्यसैगरी म्याक्स ओडोउडले २८ रन बनाउदा बास डी लिडेले अविजित २१ रन बनाए।
नामिबियाका लागि कप्तान जेर्रार्ड एरास्मसले तीन विकेट लिए।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले ३५ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय २३ रनको योगफल बनाएको थियो। नामिबियाका लागि जेजे स्मिथले २६, जान ग्रिनले १९, रुबेन ट्रम्पलम्यानले २०, निकोलस डाभिन र कप्तान जेर्रार्ड एरास्मसले समान १३/१३ तथा वेर्नार्ड स्कोल्ट्जले १२ रन बनाए।
नामिबियालाई सस्तैमा समेट्नेक्रममा नेदरल्यान्ड्सका आर्यन दत्त एक्लैले छ विकेट लिए भने कायल केलिनले दुई विकेट झारे। त्यस्तै रोलेफ भान डेर मार्वे र म्याक्स ओडोउडले समान एक/एक विकेट झारे।


