काठमाडौं- टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदमा भएको भ्रष्टाचारका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ।
प्रतिनिधि सभाअन्तर्तग सार्वजनिक लेखा समितिको मंगलबार बसेको बैठकमा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले टेरामक्समा भएको भ्रष्टाचार प्रकरणमा छिट्टै मुद्दा दायर गरिने जानकारी दिएका हुन्।
टेरामक्स खरिदमा तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका मोहन बस्नेत (हाल स्वास्थ्य तथा जनसंख्यामन्त्री)सहित पूर्वसञ्चारमन्त्रीहरू गोकुल बाँस्कोटा र ज्ञानेन्द्र कार्कीसमेत संलग्न भएको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको हो। यो प्रकरणमा जोडिएकाहरुको बयान लिने काम सकिएको उनले जानकारी गराए।
‘टेरामिक्समा अनुसन्धान सकिएको छ। हामी छिट्टै विशेष अदालतमा संलग्न देखिएकाहरुलाई प्रतिवादी बनाउँदै भ्रष्टाचार मुद्दा दायर गर्छौं,’ प्रमुख आयुक्त राईले भने।
राईका अनुसार, सुरक्षण मुद्रण केन्द्रअन्तर्गत सेक्युरिटी प्रेस खरिद योजनाको टेप प्रकरणमा पनि आयोगले अनुसन्धान गरिरहेको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले टेरामक्स खरिद एवं जडान गर्ने योजना अघि सारेको थियो। तर यो योजनामा मन्त्रीहरूकै संलग्नतामा भ्रष्टाचार भएको भन्दै संसदीय समितिले छानबिन गर्न सिफारिस गरेको थियो।
यसपछि आयोगले अनुसन्धानलाई टुंग्याउने गरी काम गरेको हो।
यो प्रकरणमा जोडिएर अख्तियार पुगेर मन्त्री बस्नेतले बयान दिएपनि आफूलाई स्वच्छ दाबी गर्दै आएका छन्। उता प्रमुख प्रतिपक्षी दलले भने मन्त्री बस्नेतले तत्काल राजीनामा दिनुपर्ने माग गर्दै सदमा अवरोध गरिरहेको छ। यस विषयमा सांसदलाई उत्तर दिन सभामुख देवराज घिमिरेले रुलिङ गरेका छन्। उनको रुलिङ अनुसार यो विषयमा सरकारले फागुन १८ गतेको बैठकमा जानकारी गराउनुपर्नेछ।
एमालेलगायतका प्रतिपक्षी दलको मागअनुसार सभामुखले रुलिङ गरेपनि प्रधानमन्त्री प्रचण्डलगायतका मन्त्रीले भने यो विषयमा कुनै अभिव्यक्ति दिएका छैनन्। त्यस्तै एमालेको मागअनुसार सदनमा उपस्थित हुन पनि प्रधानमन्त्रीले अस्वीकार गर्दै आएका छन्।


