भरतपुर (चितवन)- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नी छोरी रेणु दाहाल भरतपुर महानगरपालिकाको मेयर बनेदेखि विकासको मोडलमा सिंगो देशलाई नै नेतृत्व गरेको जिकिर गरेका छन्।
शुक्रबार भरतपुरमा ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो जिकिर गरेका हुन्। पछिल्ला ७ वर्षयता (रेणु मेयर बनेपछि) भरतपुरले सिंगो देशको नेतृत्व गरेको उनको भनाइ थियो।
‘पछिल्लो ७ वर्षको अवधिमा भरतपुर महानगरपालिकाले विकासको मोडेलमा सिङ्गो देशलाई नै नेतृत्व गरिरहेको छ। एक दशकअघिको भरतपुर र वर्तमानको भरतपुरमा आम जनसमुदायले गुणात्मक परिवर्तन भएको छ। यसको अनुभूति यहाँका नागरिकले गरिरहेका छन्,’ उनको दाबी थियो।
‘गौरवका आयोजनाहरू रिङ्गरोड, सिक्स लेन रोड, तटबन्धन, सिटि हल, गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला, विमानस्थल, नारायणी ‘सी–बीच’’ मोडल तथा विभिन्न पूर्वाधारहरूको निर्माण प्रक्रिया सम्पन्न भइसक्दा भरतपुरले नयाँ मानक स्थापित गर्नेछ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘देशको अर्थतन्त्र र विकास मोडलमा ‘रोलमोडल’ कायम गर्नेछ। यसका निम्ति तपाईँ भरतपुरबासी जनसमुदाय बधाइका पात्र हुनुहुन्छ।’
नेपालको कूल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ६.७ प्रतिशत र रोजगारीको क्षेत्रमा ६.९ प्रतिशत रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले चितवनमा २०२३ मा एक लाख ९० हजार चार सय ५८ जना पर्यटकको आगमन भएको आफूले जानकारी पाएको बताए।
‘भरतपुर भ्रमण वर्षले रत्ननगर नगरपालिकाको सौराहाबाट माडी नगरपालिकाको सोमेश्वर गढीसम्म, राप्तिको परेवाकोटबाट खैरहनीको कुमरोजसम्म, कालिकाको सिन्ते झरनाबाट गैंडाकोटको मौलाकालिकासम्म, चितवनको उच्च भाग इच्छाकामनाको सिराईचुलीबाट बागमती प्रदेशकै होचो भू–भाग भरतपुर महानगरपालिकाको गोलाघाटसम्मका ५० भन्दा बढी गन्तव्यहरूको प्रवर्द्धन गर्नेछ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘यो चितवनको पर्यटनमा गुणात्मक फड्को हुनेछ।’
विशिष्ट पाहुनाहरूबाट एक सय ५० वर्षदेखि चितवनका जङ्गलमा शिकार यात्रा गरेको इतिहास रहेको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा सर्वप्रथम जङ्गल सफारीको सुरूआत टाइगर टपले मेघौली नजिक चितवनबाट भएको भएको उल्लेख गर्नुभयो। उनले यी सबै आधारहरूले ‘भरतपुर भ्रमण वर्ष २०२४’ ले आफ्नो लक्ष्य हासिल गर्ने विश्वास व्यक्त गरे।
भ्रमण वर्ष कार्यक्रमले चितवनलाई आर्थिक केन्द्रको रूपमा विकास गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था सम्मिलित यस बृहत अभियान भरतपुर भ्रमण वर्ष २०२४ ले सुस्ताएको पर्यटन क्षेत्रलाई राष्ट्रियस्तरमा उकास्न र राष्ट्रकै पर्यटन प्रवर्द्धनका निम्ति कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे।
फरक प्रसंगमा उनले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न क्रियाशील रहेको बताएका छन्।
‘१४ महिनामा देश र विश्व समुदायले समेत देख्ने गरी मानकहरू स्थापित भएका छन्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘भ्रष्टाचार नियन्त्रण, अर्थतन्त्रमा सुधार, सङ्घीयता कार्यान्वयन, सामाजिक न्याय र सेवा प्रवाहमा जे–जति कामहरू भएका छन्। यी देशका लागि महत्त्वपूर्ण उपलब्धीहरू हुन्।’
दिगो विकासबाट आर्थिक समृद्धि प्राप्त गर्न सहमतिको संस्कृति र राष्ट्रिय सहमति आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिका विशिष्ट व्यक्तिहरूको सामूहिक उपस्थितिले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सकारात्मक सन्देश सम्प्रेषण हुने बताए।


