काठमाडौँ- नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले बुधबार पनि नयाँ रेकर्ड बनाएको छ।
मंगलबार पनि रेकर्ड बनेको भएपनि मंगलबारको रेकर्डलाई पनि बुधबारको सुनको मूल्यले तोडेको हो।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २३ हजार पाँच सय तोकिएको छ।
मंगलबार प्रतितोला रु एक लाख २३ हजारमा कारोबार भएको थियो।
मंगलबारका तुलनामा सुनको मूल्य प्रतितोला रु पाँच सयले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख २२ हजार नौ सय कायम भएको छ।
यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख २२ हजार चार सय थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो दिनको कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार चार सय ४० तोकिएको महासङ्घले जनाएको छ।
महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा नेपाली बजारका लागि दैनिक कारोबार मूल्य तोक्दै आएको छ।
अन्तरराष्ट्रिय बजारमा हाल सुन प्रति औँस दुई हजार एक सय २६ डलर आसपास कारोबार भइरहेको छ।


